
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा एफ ३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएका छन् । करिब २४ अर्ब अमेरिकी डलरको यो सम्झौता कार्यान्वयनका लागि अमेरिकी संसद्को स्वीकृति आवश्यक हुनेछ ।
यसबीच अमेरिकी गुप्तचर निकायले एफ ३५ को संवेदनशील प्रविधि चीनको हातमा पुग्न सक्ने जोखिमबारे चिन्ता व्यक्त गरेको छ । चीनले साउदीसँगको सैन्य तथा प्राविधिक सहकार्यमार्फत विमानसम्बन्धी प्रविधि प्राप्त गर्न सक्ने अमेरिकी पक्षको आशंका छ ।
एफ ३५ अमेरिकाको अत्याधुनिक लडाकु विमान हो । साउदीको चीनसँग बढ्दो सैन्य सम्बन्ध र पूर्वाधारमा चिनियाँ कम्पनीको सहभागिताले अमेरिकाको सुरक्षा चिन्ता थप बढाएको बताइएको छ ।
इजरायलले पनि साउदीलाई एफ ३५ बिक्री गर्दा आफ्नो मध्यपूर्वी सैन्य अग्रतामा पर्न सक्ने प्रभावबारे चासो व्यक्त गरेको छ । विमान निर्माण र आपूर्तिमा धेरै वर्ष लाग्ने भएकाले स्वीकृति पाए पनि साउदीले तत्काल भने विमान प्राप्त गर्ने छैन ।








