
पनौती,काभ्रे ।नेकपा एमाले पुनर्गठन कार्यदलमा देखिएको संकट बल्थलीको आवासीय बैठकले पनि हल गर्न सकेन ।
कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग–अलग प्रतिवेदन तयार पारेपछि उत्पन्न समस्या हल गर्न बल्थली पुगेका नेताहरू आइतबार बिहानदेखि सोमबार दिउँसोसम्म छलफलमा जुटेका थिए । तर आपसी सहमति भएन ।
उपाध्यक्ष र महासचिव आ -आफ्नै प्रतिवेदनमा अडानमा देखिएपछि सहमति नजुटेको बैठकमा सहभागी एक जना नेताले बताए ।
अन्तत् मत विभाजनद्धारा सहमति नगर्ने कुरामा सहमत उनीहरुले सबैको मतलाई समेट्नेगरी एकीकृत मस्यौदा तयार पार्न तीन सदस्यीय सम्पादन समिति बनाउन बनाएका छन् ।
कार्यदलका संयोजक थापा, उपाध्यक्ष बिष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल रहेको सम्पादन समिति बनाएर आवासीय छलफल टुंगियो ।
यो समितिलाई दुई दिनको समय दिइएको छ । ‘महासचिव शंकर पोखरेलको विस्तृत प्रतिवेदन, त्यसमाथि बादलको अलग मत र आवासीय छलफलमा अरु नेताहरूले राखेका अभिमतलाई समेत समेटेर एकीकृत मस्यौदा तयार पार्ने जिम्मेवारी यो समितिलाई दिइएको छ,’ उनी भन्छन् ।
आगामी असोज १ गते सम्पादन समितिले सहमति सहितको प्रतिवेदन तयार पार्ने उनले बताए ।
