
काठमाडौँ। नेपालमा स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले इन्फिनाइट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा ‘पिंक वाक २०२६’ आयोजना गर्ने भएको छ। स्तन क्यान्सरको समयमै पहिचान, सचेतना अभिवृद्धि तथा प्रभावित व्यक्तिहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजना हुने पदयात्रा बसन्तपुरदेखि मंगलबजारसम्म सञ्चालन हुनेछ। स्तन क्यान्सरबाट बच्न तथा उपचारलाई प्रभावकारी बनाउन समयमै रोग पहिचान गर्नु महत्वपूर्ण रहेकाले शरीरमा देखिने असामान्य परिवर्तनप्रति सचेत रहन आयोजकले आग्रह गरेको छ।
पिंक वाकमा सहभागी हुन इच्छुकले क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्।
कार्यक्रममा सहभागीबाट संकलित सम्पूर्ण रकम स्तन क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम तथा उपचार सहयोगका कार्यक्रमहरूमा खर्च गरिने आयोजकले जनाएको छ। बसन्तपुरदेखि मंगलबजारसम्म हुने पिंक वाक २०२६ मा सहभागी भई स्तन क्यान्सरविरुद्धको सचेतना, आशा र ऐक्यबद्धताको सन्देश फैलाउन आयोजकले आह्वान गरेको छ।



