smart
लघुकथा
घाँटी हेरी हाड निल्नु
शुषमा चित्रकार
दशैँ आयो।
उसले मात्र घरमा खसी ल्याउन सकेको थिएन। इष्टमित्र, छिमेकी सबैले आँगनमा खसी बाँधिसकेका थिए।
“यसपालि त गज्जबले नै दशैँ मनाउनुपर्छ,” ऊ सबैसँग भन्दै हिँड्थ्यो।
“तलबै बढेको छैन, कुन खुसीयालीमा होरु” कसैले व्यङ्ग्य गर्दै सोधेको पनि थियो।
“तलबले मात्र खुसी बढ्ने हो ररु खुसी हुन त जान्नुपर्छ,” ऊ हाँस्दै जवाफ दिन्थ्यो।
जे भए पनि, दशैँजस्तो ठूलो चाड कसरी नमनाउने१ फुल्दै गरेका सयपत्रीका फूल हेर्दै उसले सोच्यो।
केटाकेटीहरू रमाउँदै घरभरि गीत गाउन थालिसकेका थिए। यसपालिको दशैँ मज्जाको हुन्छ भन्नेमा उनीहरू ढुक्क थिए।
“लौ लौ, केटाकेटी हो, बेला भयो है,” उसकी श्रीमतीले भनिन्, “पूजा गरेपछि काटकुट गरेर पकाइहाल्नुपर्छ।”
उनले मसला पिँधेर तयार पारिन्।
“बुवा, खसी खै तरु” जेठो छोराले सोध्यो।
“झोलामा छ,” उसले भन्यो।
छोरा छक्क पर्यो। “कत्रो खसी होला, झोलामै अट्ने ! ” उसले झोलातिर हेरेर मनमनै सोच्यो।
सबै केटाकेटी खसी हेर्न उत्सुक थिए। उसले झोलाबाट रुमालले छोपिएको वस्तु निकालेर भुइँमा राख्यो।
“ल, यसपालि यो लोकललाई ढाल्ने१”
“एक, दुई, तीन! ”
उसले एकै प्रहारमा छिनायो।
केटाकेटीहरू गलल हाँस्दै ताली बजाउन थाले। डमरु बज्यो, शङ्ख फुकियो। उसले पखालपुखुल पारेर काटकुट गर्यो। श्रीमतीले तेल र मसला हालेर भुटभाट पार्दै पकाइन्। उसले देवीलाई अलिकति चढायो अनि भातसँग मोलेर ग्वामग्वाम खायो।
केटाकेटीहरूले पनि रमाउँदै पाकेको फर्सी थपीथपी खाए।
बुझ्ने भइसकेको जेठो छोरो भने जिल्ल परेर चुपचाप हेरिरह्यो।
श्रीमती अलि ठुस्स परिन्।
“पुच्छरै नभएको खसी ल्याएर टार्नुभयो!”
“बूढी,” उसले हाँस्दै भन्यो, “फलमासु मात्र भएको यो लोकलमा बिझाउने हड्डी हुँदैन, घाँटीमा अड्किँदैन। हामीजस्ताले खानुपर्ने यस्तै हो। कस्तो नबुझेकी ! अर्को पालि हेरौँला।”
उसले सम्झाउन त सम्झायो, तर यत्रो ठूलो चाडमा पनि श्रीमतीलाई गतिलो सारी र छोराछोरीलाई मनपेटभरि मासुभात खुवाउन नसकेको पीडा उसको घाँटीमा अड्किरह्यो।
झर्न खोजेको आँसु उसले अर्कोतिर फर्केर लुकायो।





