
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित नाम्रुङ खोलामा बाढी आउँदा चार घरमा क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३: ३० बजे खोलामा आएको बाढीले दुईवटा कच्ची घर बगाएको र दुईवटा घर भत्काएको थियो ।
बाढीले नगु छिरिङ र उर्गीन लामाको कच्ची घर बगाएको थियो भने लाक्पाभुटी लामा र दोर्जे झाल्नको एकतले कच्ची घर भत्काएको थियो । यस्तै, चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मानिस तथा घोडा आवतजावतका लागि प्रयोग हुँदै आएको फलामे पुलसमेत बगाएको प्रशासनले जनाएको छ ।
बाढीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी सहायक निरीक्षक यामबहादुर दराईको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट करिब २०० मिटर पश्चिममा पर्छ । हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बिहान ४:४० बजेसम्म नाम्रुङ खोलामा पानीको बहाव घटेर खोला सामान्य अवस्थामा फर्किएको थियो । यद्यपि, बुढीगण्डकी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।







