
काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध सुरु भएको छ । पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ ।संस्कृतिविद् डा.माधव भट्टराईले सोह्र श्राद्धलाई पितृको सम्मान र स्मरण गर्ने महत्वपूर्ण परम्पराका रूपमा लिनुपर्ने बताए । उनले वैदिक तथा सनातन परम्पराअनुसार मानिसले जन्मिँदै पितृ ऋण, ऋषि ऋण र देव ऋण गरी तीन प्रकारका ऋण बोकेर आउने उल्लेख गरे ।
उनका अनुसार ऋषिपञ्चमीमा ऋषिहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरिन्छ भने सोह्र श्राद्धमा पितृप्रति श्रद्धा व्यक्त गर्ने परम्परा छ । ऋषिहरूले दिएको ज्ञान र पितृहरूले दिएको संस्कार तथा वंश परम्पराको सम्मान गर्नु नेपाली समाजको पुरानो संस्कार रहेको उनले बताए ।
उनले भने, ‘जसले पितृलाई खुसी पार्दैन, उसका सन्तान असल हुँदैनन्, उसलाई समृद्धि हुँदैन, सधैँ दुखै—दुःख चिन्तै—चिन्ता हुन्छ । त्यस्तो किसिमको मान्यता रहि आएको छ । त्यसैले सोह्र श्राद्धमा पितृको श्राद्ध गर्ने, सम्मान गर्ने, अरू दिन नसके पनि आफ्नो मुख्य पितृ बाबु अथवा हजुरबुबाको पनि गर्ने चलन छ । नेपाली समाजमा आफ्नो घरको मुख्य पितृको दिन श्राद्ध गर्ने परम्परा हो ।’डा. भट्टराईले पितृलाई सम्मान गर्ने परम्परा नेपाली समाजमा विशेष महत्वका साथ रहँदै आएको बताए । उनले सोह्र श्राद्धका १६ दिनमध्ये सबै दिन श्राद्ध गर्न नसक्नेले आफ्नो मुख्य पितृको तिथिमा श्राद्ध गर्ने चलन रहेको उल्लेख गरे । उनका अनुसार सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने समयसँग सोह्र श्राद्धको सम्बन्ध छ । यस अवधिमा पितृको श्राद्ध, तर्पण र पिण्डदान गर्ने धार्मिक परम्परा रहेको उनले बताए ।
श्राद्धमा खानपानका आफ्नै नियम
संस्कृतिविद् डा.भट्टराईले सोह्र श्राद्धका क्रममा कर्ताले खानपानमा समेत विशेष संयम अपनाउने परम्परा रहेको बताए । श्राद्ध गर्ने व्यक्तिले हविष्य भोजन गर्ने, अघिल्लो दिन एक छाक मात्र खाने, श्राद्धका दिन तर्पण तथा पिण्डदान गर्ने र त्यसपछि इष्टमित्र, छोरी–चेली, ज्वाइँ, भान्जा तथा पुरोहितलाई भोजन गराउने चलन रहेको उनले उल्लेख गरे । उनले भने, ‘सोह्र श्राद्धमा खानपानमा विशेष ध्यान दिनुपर्छ, हविष्य खानुप¥यो, चोखो खानुप¥यो, श्राद्धकै दिन एक छाक मात्र खानुप¥यो । श्राद्धको अघिल्लो दिन एक छाक खाएर श्राद्धको दिन श्राद्ध पिण्डदान गर्नुप¥यो, तर्पण गर्नुप¥यो । त्यसपछि गएर इष्टमित्रलाई अथवा आफ्ना छोरी, चेली, ज्वाइँ, भान्जाहरूलाई पनि भोजन गराउने, पण्डित पुरोहितहरूलाई भोजन गराउने पर्छ ।’उनका अनुसार सोह्र श्राद्धको अवधिमा माछामासु, लसुन, प्याजलगायतका खाद्य पदार्थ नखाने परम्परा पनि छ । कर्ताले आफ्नो क्षमता र परम्पराअनुसार धार्मिक विधि पूरा गर्नुपर्ने उनले बताए ।
घरमै श्राद्ध कि तीर्थस्थलमा ?
डा.भट्टराईले श्राद्ध घरमै गर्नु उत्तम हुने बताए । तीर्थस्थल वा पवित्र नदीमा श्राद्ध गर्दा पनि राम्रो हुने धार्मिक मान्यता रहे पनि त्यसका लागि अनावश्यक खर्च र तडकभडक गर्न आवश्यक नरहेको उनले स्पष्ट पारे ।उनले भने, ‘आफ्नो घरमा जे उपलब्ध छ, आफ्नो हैसियतअनुसार पितृप्रति श्रद्धा राखेर श्राद्ध गर्नु उत्तम हो। आडम्बर र देखावटीभन्दा श्रद्धा महत्वपूर्ण हुन्छ ।’
श्राद्धका लागि आवश्यक सामग्री
श्राद्धका लागि पवित्र जल, कुश, पिण्डदानका सामग्री तथा गाईको दूध आवश्यक पर्ने उनले बताए । परम्परागत रूपमा गाईको दूध प्रयोग गरी पिण्ड तयार गर्ने चलन रहेको भए पनि पछिल्लो समय घरघरमा गाई पाल्ने प्रचलन घट्दै गएको उनले उल्लेख गरे ।
उनका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म प्रत्येक दिन श्राद्ध गर्ने चलन कतिपय परिवारमा अझै कायम छ । उनले आफ्नो पितृको तिथिमा श्राद्ध गर्ने प्रचलन पनि व्यापक रहेको बताए । संस्कृतिविद् भट्टराईले पर्व तथा संस्कार मनाउँदा अनावश्यक खर्च र आडम्बर नगरी आफ्नो क्षमता र परम्पराअनुसार कर्म गर्न आग्रह गरे । उनले पितृको सम्मान, श्रद्धा र पारिवारिक संस्कारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।



