
काठमाडौँ । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२६ को अवसरमा “मानिस, पृथ्वी र समृद्धिका लागि साक्षरता” विषयमा केन्द्रित प्यानल छलफल संस्कृति इन्टरनेसनल स्कुलमा सम्पन्न भएको छ। कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा साहित्यकार तथा व्यवस्थापन विज्ञ स्नेह सायमी, शिक्षाविद् तथा साहित्यकार निरञ्जन कुँवर र साहित्यकार लुज माथेमा प्यानलिस्टका रूपमा सहभागी थिए।
कार्यक्रममा विद्यार्थी जीवनमा पुस्तकले पारेको प्रभावदेखि साक्षरताको बदलिँदो अर्थसम्म विभिन्न विषयमा रोचक प्रश्नोत्तर गरिएको थियो। पाठ्यपुस्तकबाहेकका पुस्तक, कथा, जीवनी तथा लेख पढ्दा विद्यार्थीले ज्ञानसँगै कल्पनाशक्ति, आलोचनात्मक सोच र जीवनलाई फरक दृष्टिकोणबाट हेर्ने क्षमता प्राप्त गर्ने विषयमा प्यानलिस्टहरूले आफ्ना अनुभव साझा गरे। विशेषगरी स्नेह सायमीले विद्यार्थी भाइबहिनीका भावना र जिज्ञासासँग मेल खाने गरी सरल, आत्मीय तथा प्रेरणादायी उत्तर दिए, जसलाई विद्यार्थीहरूले निकै रुचिपूर्वक सुने।
छलफलमा साक्षरता पढ्न–लेख्न जान्नुमा मात्र सीमित नभई सही सूचना पहिचान गर्ने, प्रश्न गर्ने, नयाँ कुरा सिक्ने, डिजिटल माध्यमको जिम्मेवार प्रयोग गर्ने तथा ज्ञानलाई व्यवहारमा उतार्ने क्षमतासँग जोडिनुपर्नेमा जोड दिइयो। साथै, मानिस, पृथ्वी र समृद्धिका लागि साक्षरताको महत्त्वबारे चर्चा गर्दै वातावरणीय चेतना, जलवायु परिवर्तन, आर्थिक अवसर, सिर्जनशीलता, समस्या समाधान र डिजिटल साक्षरताजस्ता विषयमा विद्यार्थीलाई सचेत गराइएको थियो। मोबाइल, इन्टरनेट र एआईको प्रयोग गर्दा प्रविधिमा निर्भर हुनुभन्दा आफ्नै सोच र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिइयो।
कार्यक्रमको स्वागत मन्तव्य रियाना शाक्यले दिइन् भने मायाको चिनो उपप्रधानाध्यापक अमित मन्त्रीले प्यानलिस्टहरूलाई प्रदान गरे। कार्यक्रमको सहजीकरण सियोना श्रेष्ठ र रिषभ महतले गरेका थिए।अन्तिम प्रश्नका रूपमा आफ्नो, समाज र पृथ्वीका लागि नयाँ साक्षरता बानीको विकास गर्नुपरेमा के गर्ने भन्ने जिज्ञासा राखिएको थियो। कक्षा ९ र १० का विद्यार्थीहरूले तीनै जना प्यानलिस्टका विचार, अनुभव र उत्तरहरू निकै आनन्द र उत्साहका साथ सुने। समग्रमा, कार्यक्रमले साक्षरता केवल अक्षर चिन्नु नभई आफू, समाज र संसारलाई बुझ्दै जिम्मेवार तथा सचेत जीवनतर्फ अघि बढ्ने क्षमता हो भन्ने महत्त्वपूर्ण सन्देश दिएको थियो।






