
काठमाडौँ। सरकारले होटलले व्यावसायिक प्रयोजनका लागि कति ग्यास मौज्दात राख्न पाउने सीमा नभए पनि बढी स्टक राखेको भन्दै ठूला होटलहरूलाई कारबाहीको चेतावनी दिएको छ।
बजारमा ग्यास वितरण व्यवस्थित नभएपछि होटल तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन सुरू गरेको सरकारले बिहीबार काठमाडौंको पाँचतारे होटल र्याडिसनमा अनुगमन गरेको छ। उक्त अनुगमनमा १८४ वटा ग्यास सिलिन्डर भेटिएको भन्दै उद्योग तथा वाणिज्य मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो।
तर होटलहरूले व्यावसायिक प्रयोजनका लागि कति ग्यास मौज्दात राख्न पाउने भन्ने स्पष्ट सीमा नै छैन।
मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल आयल निगमको टोलीले बिहीबार होटल र्याडिसनमा अनुगमन गरेको थियो।
उद्योग मन्त्री गौरी यादवको सचिवालयले पठाएको जानकारी अनुसार होटलमा नेपाल ग्यासका ११७ र एसटिसी ग्यासका ६७ गरी १८४ वटा सिलिन्डर छन्।
होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको बताइएको छ।
मन्त्रालयले होटलमा ठूलो परिमाणमा ग्यास लुकाएर राखिएको भन्दै प्रचार गरेको छ। तर पाँचतारे होटलमा दैनिक ७० देखि १०० सिलिन्डरसम्म ग्यास खपत हुने व्यवसायीहरू बताउँछन्।
