
काठमाडौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको पहिलो भ्रमणलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै कडा आपत्ति जनाएकी छन् ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार कुरिल टापु शृङ्खलाको इटुरुप टापुको भ्रमण गरेका थिए । जापानले उक्त टापुलाई एतोरोफु नामले चिन्ने गर्दछ र यो जापान तथा रुस दुवैले आफ्नो दाबी गर्ने चार विवादित टापुमध्ये एक हो ।
प्रधानमन्त्री ताकाइचीले पुटिनको भ्रमणले जापानी जनतामा रुसप्रतिको धारणा थप नकारात्मक बनेको बताउँदै ती टापुहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुनअनुसार जापानको अभिन्न भूभाग भएको दाबी गरिन् । जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले पनि पुटिनको भ्रमणप्रति औपचारिक विरोध जनाएका छन् ।
कुरिल टापुहरू उत्तरी जापानको होक्काइदो र रुसको कामचाट्का प्रायद्वीपबीच अवस्थित छन् । दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सङ्घले टापुहरू आफ्नो नियन्त्रणमा लिएपछि जापान र रुसबीच दशकौँदेखि भूभागसम्बन्धी विवाद जारी छ । यही विवादका कारण दुई देशले दोस्रो विश्वयुद्धपछि औपचारिक शान्ति सन्धिसमेत गर्न सकेका छैनन् ।
पुटिनले भ्रमणका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै समुद्री माछाको अण्डाको परिकार चाखेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । रुसले पछिल्लो दशकमा यी टापुहरूमा आफ्नो सैन्य उपस्थिति उल्लेख्य रूपमा बढाएको छ। इटुरुप टापु यस क्षेत्रमा रुसको प्रमुख सैन्य हवाई अड्डाका रूपमा प्रयोग हुँदै आएको छ ।
युक्रेनमाथि रुसको आक्रमणपछि जापानले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको छ, जसका कारण दुई देशबीचको सम्बन्ध थप चिसिएको छ । यसअघि पनि रुसी प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीले विवादित टापुको भ्रमण गर्दा जापानले पटकपटक विरोध जनाउँदै आएको छ । रुसले ती टापु आसपास नियमित सैन्य अभ्यास गर्दै आएको विषयमा पनि जापानले आपत्ति जनाउँदै आएको छ ।





