
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको र संसदीय अभ्यासको मर्यादा उल्लंघन गरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले सांसद चन्देश्वर मण्डलले भने, ‘प्रधानमन्त्री जम्मा तीन पटक मात्र संसद्मा आउनुभएको छ। बजेट प्रस्तुत भइरहँदा उहाँ बाहिरिनुभयो, योभन्दा गैरजिम्मेवारपन के हुन सक्छ ?’ प्रधानमन्त्रीले शाहले राष्ट्रिय पोसाकको सट्टा सधैँ कालो सुट, चस्मा र ज्याकेटमा सजिएर संसद्को गरिमा घटाएको उनको टिप्पणी थियो।
सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा मृत्यु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र मेहता र गणेश यादव प्रहरीको गोली लागेर मृत्यु भएको भन्दै उनले निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरे । साथै, गोलबजारमा १९ जना व्यापारीको अर्बौँको सम्पत्ति जलेकोमा उचित क्षतिपूर्तिको माग गर्दै हिन्दू र मुस्लिम समुदायबीच आपसी भाइचारा कायम राख्न अपील गरे ।
उनले संसद्मा जथाभाबी ‘ढ्यापढ्याप’ नगर्न र संसदीय मर्यादा पालना गर्न सुझाव दिए ।
