
काठमाडौँ ।नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको हो ।
साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ गतवर्षभन्दा भव्य हुने संयोजक गौरव शारडाले बताएका छन् । उनका अनुसार एक्स्पोमा एकातिर चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा उभिनेछ भने अर्कोतर्फ दर्जनौँ नयाँ विद्युतीय र हाइब्रिड सवारीले भविष्यको सडक कस्तो हुनेछ भन्ने चित्र देखाउनेछन् ।
साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्म एउटै छानामुनि उभिँदा भृकुटीमण्डप केही दिनका लागि केवल प्रदर्शनीस्थल रहने छैन, नेपालको बदलिँदो ‘मोबिलिटी’ इतिहासको साक्षी बन्नेमा नाइमा ढुक्क छ ।
अटोमोबाइल उद्योगका लागि यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एउटा व्यापारिक मेलामात्र नभएर बजारको नयाँ शक्ति–सन्तुलन घोषणा गर्ने मञ्च पनि हुने उनको भनाइ छ ।
सार्वजनिक हुने ४० भन्दा बढी नयाँ मोडलले अब नेपाली सडक पेट्रोल र डिजेलको आवाजभन्दा ब्याट्री, सफ्टवेयर र स्मार्ट प्रविधितर्फ मोडिइसकेको देखाउने उनको भनाइ छ ।
इन्धनबाट विद्युतीयतर्फको तीव्र विकास, विश्वका नयाँ–नयाँ ब्रान्डहरूको नेपाल प्रवेश, स्मार्ट प्रविधिले भरिएका सवारी र चाडपर्वअघिको बजारको उत्साहलगायतका सबै एकै ठाउँमा देख्न पाइने भएकाले यसपटकको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई व्यवसायीहरूले अटो शो मात्रै नभएर ‘मोबिलिटीको महाकुम्भ’ हुने शारडा बताउँछन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने एक्स्पोमा विभिन्न क्षेत्रका ५५ ब्रान्ड सहभागी हुने र ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

