
चर्चामा पुस्तक
अर्कैै सत्य
आख्यानकार,समालोचक,समीक्षक बहुआयामिक व्यक्तित्वका धनी खेमराज पोखरेलको यो कथासङ्ग्रहभित्र ३६ थान कथाहरु समावेश छन् ।
विषयगत विविधता भएपनि प्राय कथाहरु यौन विषयका वरिपरि घुमेका देखिन्छन् । वर्तमान समयका जिउँदा जाग्दा तस्बिर लाग्छन् कथाहरु । यथार्थको सन्निकट देखिन्छन् । पारिवारिक अंशहरु पनि आएका छन् । मान्छेका पाकेका उमेरका अनुभव,अनुभूति र आवश्यकता बोल्छन् कथाहरु । तिनका मनोविज्ञान चित्रण गर्छन् ।
सम्बन्धका चर्चा गर्छन्,विवाह र प्रेममा सुसेल्छन् । मिथकहरु पनि भेटिन्छन् । पूर्वस्मृतिको गर्भमा पनि पुर्याउँछन् । वर्तमान समयका समस्याहरु उजागर गर्छन् । कतै नारीवादी कथाका छन्क पनि आउँछन् । राजनीति पनि भेटिन्छ । आधुनिकता भेटिन्छ कथाहरुमा ।समसामयिक विषयहरुमा कथाहरु केन्द्रीत देखिन्छन् ।
कथाका पात्र परिवेश समाजसन्निकट लाग्छन् । छरितो र सरल भाषाले कथाहरुमा प्राण भरेको छ ।
अर्कै सत्य कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.३९०। रहेको छ ।
महाभुकम्प
विजय सागरको यो कथासङ्ग्रहभित्र पन्ध्र थान कथाहरु समावेश गरिएका छन् । सामाजिक अवयवहरुलाई विषयवस्तुको रुपमा टिपेर कथाहरु बुनिएका छन् । यथार्थको सन्निकट छन् कथाहरु । प्रेम र बेइमानका भावहरु अभिव्यक्त भएका छन् ।मानवीय संवेदनाहरुको मार्मिक भाव आएका छन् कथाहरुमा । पारिवारिक सम्बन्ध कसरी विघटन हुँदैछन् वर्तमान समयमा कथाले प्रष्ट पार्छ ।
नेपालका विभिन्न स्थान र परिवेशहरुले कथाको परिवेश बनाएको पाइन्छ । हाम्रा ह्रासउन्मुख संस्कार र संस्कृति बोलेको देखिन्छ । उतिबेलाको द्धन्द्धकालीन परिवेशका विषय, भुकम्पका बेलाका समस्याका विषय,आर्थिक विषमताका कुरा लगायत हामीले भोगेको समयका चित्रहरु कथाहरुले बोलेका छन् ।
कथाहरु सरल छन् । बोधगम्य भाषामा आएका छन् । कतिपय कथा संस्मरणात्मक लाग्छन् । कथाकारले यथार्थवादी धार पकडेको पाठकलाई प्रष्टै थाहा हुन्छ । आयामका दृष्टिले मध्यम र लामा छन् कथाहरु ।
महाभुकम्प कथासङ्ग्रहलाई उषा श्रेष्ठले प्रकाशित गरेकी हुन् । यसकृतिको मूल्य रु.२५०। रहेको छ ।
दिव्य गिरी
साहित्यमा अर्धशताब्दी
अग्रज कवि एवं सम्पादक विमल भौकाजीको सम्पादनमा आएको यो कृतिले अग्रज लेखक,साहित्यकार दिव्य गिरीको समग्र साहित्यिक व्यक्तित्वलाई सार्वजनिक गरेको छ । प्रा.डा.दयाराम श्रेष्ठ र प्रा.डा.लक्ष्मणप्रसाद गौतमको मन्तव्य रहेको कृतिले उनका कृतिमाथि विभिन्न समालोचक,समीक्षकहरुका समालोचना र समीक्षा समावेश गरिएको छ । यसमा उनको हराएको इलाका (कवितासङ्रग्रह),कङ्काल बस्ती र स्वप्निल शिविर (मुक्तकसङ्ग्रह),सागर लहर किनार (गजलसङ्ग्रह),धुनि तापेर (हाइकुसङ्ग्रह),अनामिका,ईश्वरको अनुहार(कथासङ्ग्रह),भेडीगोठ र भेडो,पुत्लादहन(लघुकथासङ्ग्र्रह) कृतिहरुमाथि गरिएका विभिन्न समालोचना र समीक्षाहरु राखिएका छन् ।
गिरीले विभिन्न समयमा पत्रपत्रिका लगायतमा दिएका अन्तरवार्ताहरु राखिएका छन् । उनका केही कविता,हाइकु,गीत ,गजल,मुक्तक,कथा र लघुकथाहरु पनि कृतिमा समावेश गरिएको छ ।
यसैगरी कृतिभित्र उनले विभिन्न समयमा पाएका सम्मान,पुुरस्कारहरुका प्रमाण पत्रहरु राखिएका छन् ।
कृतिले साहित्यमा गिरीको योगदानको बारेमा बुझ्न चाहानेलाई महत्वपूर्ण खुराकको काम गर्छ ।
दिव्य गिरी साहित्यमा अर्धशताब्दीलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.९९९। रहेको छ।




