
काठमाडौँ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको आयोजनामा सोलुखुम्बु सल्लेरीमा ‘सिर्जना उत्सव’ सम्पन्न भएको छ ।
‘मेरो राष्ट्र मेरो ध्येय’ मूल नारासहित सल्लेरीमा आयोजित कार्यक्रममा प्रतिष्ठानले घोषणा गरेका पुरस्कार पनि वितरण गरिएको छ ।
‘योगेश्वर वाङ्मय पुरस्कार २०८२’ रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीलाई र ‘ग्रेगरी कलासंस्कृति पुरस्कार २०८२’ सोलुखुम्बुका स्रष्टा मनुहाङ किराँती सोलु (युमन खालिङ)लाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाट्यकर्मी अशेष मल्ल तथा प्रतिष्ठानका प्रमुख संरक्षक डा.विमल कोइरालाले उनीहरूलाई ताम्रपत्र तथा नगदराशि प्रदान गरे ।उनले स्थानीय उत्पादन मात्र नभई स्थानीय कला र संस्कृतिलाई आफ्नै प्रयासमा उन्नयन गर्न सके सोलुखुम्बुलाई सुन्दर र आकर्षक तुल्याउन सकिने बताए । कवि कोइरालाले समाज विकासका लागि अत्यावश्यक खम्बा कलासाहित्यलाई राज्य र स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा विशेष जोड दिए ।
पुरस्कृत स्रष्टा ओलीले साहित्य सिर्जनालाई लिएर आफ्ना धारणा राखे भने स्थानीय साहित्यकार उत्रकुमार राईले सोलुखुम्बुमा साहित्यबारे चर्चा गरे ।
साहित्यकार महेश पौड्यालले की–नोट मन्तव्य प्रस्तुत गर्दै पुरस्कृत स्रष्टाबारे जानकारी दिए ।
साहित्यकार मोमिलाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै कला–साहित्य यात्राले समाजमा सद्भाव र सिर्जनाका माध्यमबाट राष्ट्रलाई पनि महत्त्वपूर्ण योगदान दिँदै आइरहेको बताइन् ।
कार्यक्रममा अतिथि कवि डा। कृष्णराज डीसीले छन्द कविता प्रस्तुत गरे । लक्ष्मण गाम्नागेले सोलुखुम्बुलाई व्यङ्ग्यात्मक रूपमा काठमाडौंसँग तुलना गर्दै उपस्थित व्यक्तिलाई हँसाएका थिए ।
कार्यक्रममा कविहरू राजेश्वर कार्की, तुलसीहरि कोइराला, मणि लोहनी, अनिता कोइराला, लक्ष्मी रुम्बा, वीरेन्द्र ग्यावा तामाङ, तारा सुनुवार, जयदेव भट्टराई, मुकुन्द प्रयास, सुवास सजल, सुष्मा बस्नेत, सुवास संगम राई, मेरुदण्ड राई, केशव कुलुङ, रामकुमार राई, गंगा राई, तिब्बत राई, महेन्द्रदीप राई, शम्भु निःशब्द, मनुहाङ किराँती सोलुलगायतले आआफ्ना रचना वाचन गरे ।
प्रतिष्ठानद्वारा आयोजित ‘सिर्जना उत्सव’मा सल्लेरीको स्थानीय संस्थाहरू श्री नवयुग साहित्य र कला सेवा समाजको सहकार्य रहेको थियो ।

