काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय र सर्वपक्षीय सरकार गठनको प्रस्ताव राखेका छन् ।
राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स)को टोलीसँग सोमबार भएको छलफलमा वर्तमान संकटको समाधानका लागि ओलीले विभिन्न प्रस्ताव अघि सारेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
“जेनजीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठन,” ओलीको प्रस्ताव उद्धृत गर्दै रिजालले फेसबुकमा लेखेका छन् ।
असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको प्रस्ताव ओलीको छ । त्यस्तै, जेनजी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूले पुनः प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन् ।
१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना
२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट
४.जेन–जीसहितको सहभागितामा सर्वदलीयरसर्वपक्षीय सरकार गठन
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण
यस्तो मार्गचित्र केपी ओलीले प्रस्तुत गरेको वताइएको छ ।


