काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत भन्सार शुल्कले ठूलो प्रभाव नपर्ने भारत सरकारले बताएको छ ।
सरकारी स्रोतहरूले ट्रम्पले लगाएको ५० प्रतिशत करको असर आशंका गरिएको जति गम्भीर नहुने सम्भावना रहेको बुधबार भारतको सरकारी न्युज एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई )लाई बताएका छन् ।
स्रोतहरूले भने, -“भारतीय निर्यातको विविध प्रकृतिलाई हेर्दा ट्यारिफको प्रभाव त्यति गम्भीर हुने सम्भावना छैन जति आशंका गरिएको छ ।”
उनीहरूले यो मुद्दा समाधान गर्न भारत र अमेरिकाबीच संचार माध्यमहरू खुला छन् । स्रोतहरूले निर्यातकहरूको मुद्दामा आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।
अमेरिकाले नयाँ दिल्लीमाथि आफ्नो पछिल्लो ट्यारिफ औपचारिक रूपमा लागु गरेपछि यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाले भारतबाट आउने प्रमुख वस्तुहरूमा यसअघि २५ प्रतिशत भन्सार शुल्क लगाएकोमा अगस्ट २७ देखि थप २५ प्रतिशत लगाएर ५० प्रतिशत बनाएको छ ।
्सरकारले भारतका लागि नयाँ व्यापार र वाणिज्यका मार्गहरू खोल्न धेरै स्वतन्त्र व्यापार सम्झौताहरू लागु गरिसकेको बताएको छ । केही अन्य सम्झौताहरू प्रक्रियामा छन् ।
भारतको सरकारी परिषद् सेप्टेम्बर ३ र ४ मा बस्ने तयारीमा छ, जसको मुख्य एजेन्डा विभिन्न वस्तु र सेवाहरूमा कर शुल्क घटाउनेमा केन्द्रित हुनेछ ।
यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा घोषणा गरेको जीएसटी सुधारसँग सम्बन्धित रहेको बताइएको छ, जुन दिपावलीदेखि लागु हुने बताइएको छ ।
यसैगरी मोदीदे अमेरिकासँग कुनै सम्झौता नहुने बताएका छन् । यो टिप्पणी ट्रम्पले भारतमा रूसी तेल खरिदको कारणले लगाएको अतिरिक्त २५ प्रतिशत ट्यारिफ लागु भएको केही घण्टापछि आएको हो ।


