
सूझबूझ बिना वेद वेदाङ्गको कुरा गर्नु भनेको हलुवावेद पनि वेदै त हो नि भन्नेहरुको कुरा भन्दा उनीहरुको कुरा तुलनामा कुनै भिन्न होला जस्तो लाग्दैन । सूझबूझ नचाहिनेहरुको जमातमा गएर हेरियो भने वेदाङ्ग ज्योतिषको गफ जसले हाँक्यो उसैलाई नै शीर्षस्थानमा राखी महामानव ठान्दै पूजा गर्दै आइरहेको देखिन्छ । वेदाङ्ग ज्योतिष यति उपयोगी छ , उति उपयोगी छ भनेर बयान गरेर जतिसुकै लामो व्याख्या गरिएपनि त्यसमा कुनै आश्चर्य मान्नु पर्दैन । आश्चर्य त यसमा मान्नु पर्दछ कि जसले उपयोगी भन्यो उसैले वेदाङ्ग ज्योतिष अनुपयोगी ठहरायो किन ? भन्ने कुरालाई लिनु पर्दछ । यही विषयमा केन्द्रित रहेर यो लेख तयार गरिएको हो ।
सूझबूझ राख्नु पर्ने कुरा
प्राचीन अभिलेखहरुको अगाडि महामानव भनाउँदाहरु पनि नतमस्तक नभई सुखै छैन । वेद वेदाङ्गहरु मात्र भएर पुग्दैन प्राचीन अभिलेखहरु पनि चाहिन्छ भनी भारतको इतिहासकार पं भगवानलाल इन्द्राजीले प्राचीन अभिलेख संकलन गरे । त्यहाँदेखि यता अरुको पनि त्यतातिर आँखा खुलेको त सर्ब विदित नै छ । यसरी आँखा खुलेकै हुनाले अभिलेख प्रमाणका आधारमा “इतिहास संशोधनको प्रमाण प्रमेय” निस्केको पनि सबैलाई थाहा छ । “अभिलेख संग्रह भाग १ देखि भाग १२” सम्म किन निस्केको ? त्यो भनी रहनु पर्ने कुरा होइन । यसैको क्रममा प्रकाशित अभिलेखहरु एकै ठाउँमा राखेर सम्पादन गर्ने कामबाटै “लिच्छविकालका अभिलेख” भनेर इतिहासकार धनवज्र वज्राचार्यको ग्रन्थ सिर्जना भएको हो । यो पनि सायद अनभिज्ञ कोही छैनन् होला ।
यही ग्रन्थ भित्र संख्या ६३,६४ र ६५ अभिलेख पल्टायौं भने धर्मस्थलीको शिवदेव अंशुवर्माको अभिलेख,बूढानीलकण्ठको शिवदेव अंशुवर्माको अभिलेख र सतुङ्गलको शिवदेव अंशुवर्माको अभिलेख नियालेर पढ्न सकिन्छ । त्यसमा संवत् ५१७ आषाढमा अधिमास परेको र संवत् ५१९ पौषमा अधिमास परेको प्रत्यक्ष पाउँछौं । यसरी ५१७ आषाढदेखि अठारौं महिनामा आएर ५१९ पौषमा अधिमास परेको प्रत्यक्ष पाउँछौं । शास्त्रअनुसार हरेक ३०।३० महिनामा अधिमास आउनु पर्छ भनेर देखाइन्छ भने शास्त्र हेर्ने कि अभिलेख हेर्ने ? भन्ने सवाल उठ्छ ।
त्यस्तैगरि यही ग्रन्थ भित्र संख्या ७५ र ७९ को अभिलेख पल्टायौं भने त्यहाँ भक्तपुर इनायचोको अभिलेख र पाटन सुनधाराको अंशुवर्माको अभिलेख नियालेर पढ्न सक्छौं । त्यसमा संवत् ३१ पौषमा अधिमास परेको र संवत् ३४ पनि पौषमा नै अधिमास परेको प्रत्यक्ष पाउँछौं । संवत् ३१ पौषदेखि ३४ पौषसम्म ३ वर्ष दृष्टान्त फरक देखिन्छ भने शास्त्रले पाँच वर्ष भित्र दुइवटा अधिमास पर्छ त्योपनि एउटा आषाढमा अर्को पौषमा पर्छ भन्दै देखाउँदै गर्दा शास्त्र तिर हेर्ने कि अभिलेख तिर हेर्ने ?सवाल उठ्छ ।
संवत् ५३६ को गोकर्ण बालुवा गाउँको अंशुवर्माको अभिलेख र संवत् ३४ को पाटन सुनधाराको अंशुवर्माको अभिलेख नियालेर हेर्ने हो भने त्यहाँ २४ महिनाको फरक मै दुई पटक अधिमास परेको प्रत्यक्ष देख्न पाइन्छ । संवत् ५३६ को गोकर्णको अभिलेख धनवज्र वज्राचार्यको संकलनमा छैन किनकि त्यो अभिलेख पछि फेला परेको हो । यसरी शास्त्रले पाँचवर्षमा दुइचोटी अधिमास पर्छ त्यो पनि आषाढ र पौषमा पर्ने गर्छ भन्छ भने अभिलेखले कहिले३ वर्ष कहिले २ वर्ष मै अधिमास परेको देखिने मात्र होइन दुइवटै अधिमास पौष मै परेको समेत प्रत्यक्ष देखादेख शास्त्र वेद वेदाङ्गको कुरा गरिरहँदा सूझबूझ भन्ने कुरा कता हरायो? भन्ने प्रश्न उठ्छ ।
संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंक ३४ मा भइरहेको व्याख्यालाई हेर्ने हो भने वेदाङग ज्योतिष संझनु पर्नाको कारण भनेर दिइएको छ ।
सिद्धान्त ज्योतिषको नियम पल्टायौं भने पौष र माघमा अधिमास कहिल्यै पर्दैन तर हाम्रो अभिलेखमा पौषमा अधिमास परेको छ । वास्तवमा पौषमा अधिमास पर्नै सक्दैन तर अभिलेखमा बारम्वार पौषमा अधिमास परिरहेको देखिन्छ । यसबाट प्रचलित नियम अनुसार अधिमास पर्नुपर्ने बेलामा नपरेको र पर्नु नपर्ने बेलामा परेकोले उहाँहरु जस्ता गणितज्ञहरु बिलखवन्दमा परेको बताइएको छ । अभिलेखले देखाएको यस्तो संशयलाई आचार्य लगधले बनाएको वेदाङ्ग ज्योतिषले हटाइ देला कि भनेर त्यतातिर आशा गरी संझनु परेको कुरा बताइएको छ ।
यही पूर्णिमा अंक ३४ मा अर्को लेखमा वेदाङ्ग ज्योतिषमा आषाढ र पौषमा अधिमास परेको व्याख्या दिइएको छ ।
वेदाङ्ग ज्योतिषमा — (१) माघशुक्लमा प्रारम्भ भइ पौषकृष्णमा समाप्त हुने पञ्चवर्षात्मक युगको उल्लेख छ । सूर्य उत्तरायणको प्रारम्भ पनि त्यसैबेला हुन्छ ।
(२) एक सौर वर्षमा ३६६ दिन,१२ सौरमास,६ऋतु,२ अयन हुन्छन् ।एक युगमा(५ वर्षमा) यिनका ५ गुणा हुन्छन् ।
(३) एक युगमा ६१ सावनमास,६२ चान्द्रमास,६७ नाक्षत्रमास हुन्छन् । एक सावनमासमा ३० दिन हुन्छन् ।
(४) एक अमावास्याको समाप्तिकालदेखि अर्को अमावास्याको समाप्तिकालसम्मको समयलाई चान्द्रमास भन्छन् अर्थात् चान्द्रमासमा एउटा पूर्णिमा तथा एउटा अमावास्या पर्छन् ।
(५) माघदेखि शुरुभई पौषमा टुङ्गिने पञ्चवर्षात्मक युगको माझमा एउटा र अन्त्यमा एउटा गरी दुइटा अधिमास पर्छन् भनी वेदाङ्ग ज्योतिषमा लेखिएकोले आषाढ र पौषमा अधिमास पर्छ भन्नेकुरा केही शङ्का रहँदैन भनिएको छ ।
(६) वेदाङ्ग ज्योतिषमा भएको गणना पद्धति महाभारतमा पनि छ भनी त्यसको लामो व्याख्या लिच्छविसंवत्को निर्णयको पृष्ठ४६ देखि पृष्ठ ६३ सम्म दिइएको छ ।
लिच्छविसंवत्को निर्णयमा —(१) वेदाङ्ग ज्योतिषमा सबभन्दा लामो दिनमान ३६ घडीको र सबभन्दा छोटो दिनमान २४ घडीको हुन्छ भन्ने सिद्धान्त स्वीकार गरिएको छ ।(पृष्ठ७५)
(२) वेदाङ्ग ज्योतिषको कालमानाक अष्टाध्यायी,सुश्रुतसंहिता र कौटलीय अर्थशास्त्रमा पनि दिइएको हुनुको मतलव सौरवर्षमा ३६६ दिन हुनै पर्छ भन्ने व्याख्या पनि छ ।
(३) वेदाङ्ग ज्योतिषमा सबभन्दा छोटो दिनचाहिं १२ मुहूर्त अर्थात् २४ घडीको हुन्छ भनी व्याकरण महाभाष्यमा पाइन्छ भनी व्याख्या गरिएको छ ।
यसले एउटा कुनै छेस्को पायो भने पण्डितहरुले चाह्यो भने नाना भाँतिको आकासपाताल जोड्ने गरी कसरी व्याख्या गर्दो रहेछ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो ।
वेदाङ्ग ज्योतिषको धाकले दिएको चुनौति
यहाँ वेदाङ्ग ज्योतिषलाई आत्मसात गर्नेकि अभिलेख प्रमाणलाई आत्मसात गर्ने भन्ने द्विविधा खडा गरिदिएको छ । वेदाङ्ग ज्योतिष आत्मसात गर्ना साथ ३६५ दिनको सौरवर्ष मानेको सबै पञ्चाङ्ग नै व्यर्थ सिद्ध भएको भयो । हरेक अढाइ अढाई वर्षमा एक चोटी अधिमास हुनै पर्दछ त्यो पनि ५ वर्षमा पहिलो अधिमास आषाढमा र अर्को अधिमास पौषमा मान्ने गरेको हुनुपर्यो । अभिलेखहरु नियाल्यौं भने कहिले १८ महिना कहिले २४ महिना र कहिले ३६ महिनामा अधिमास आइरहेको देखिएको सबै व्यर्थ हो त्यतातिर जानैहुँदैन भन्ने हाँक दिइरहेको र अभिलेखले कार्तिकादि चैत्रादि जुन किसिमको गणना अबलम्वन भइरहेको हो र त्यसबाट बादबिवाद जुन देखा परेको हो ती सब परित्याग गरेर माघलाई पहिलो महिना र पौषलाई अन्तिम महिना गरेर माघादि वर्षको वेदाङ्ग ज्योतिषको बाटोमा जानु पर्ने भयो । यही नै सर्बोत्तम उपाय हो भन्ने चुनौति आइपरेको छ ।
वेदाङ्ग ज्योतिष अपनाएमा सबभन्दा बढी घाटा
हुन त वेदाङ्ग ज्योतिषका ज्ञाता मध्ये एक पं. नयराज पन्त नै हो र यो अघिसार्ने पहिलो व्यक्ति नेपालमा उनी नै हुन् भन्दा फरक नपर्ला । वेदाङ्ग ज्योतिष अवलम्वन गर्ना साथ उनले कमाएका सम्पूर्ण साख अग्नी दग्ध भएर जाने निश्चित छ । किनभने इतिहास संशोधनको प्रमाण प्रमेय सर्ब प्रथम ध्वस्त हुने देखियो किनकि त्यसमा अभिलेख प्रमाणको आधारमा इतिहास संशोधन गरिएको छ । इतिहास संशोधन गर्नको लागि त वेद वेदाङ्ग हावि हुनु पर्नेमा अभिलेख हावि हुनु भएन । संशोधन मण्डलले अभिलेख संग्रह १ देखि १२ भाग प्रकाशित गरेको सम्पूर्ण श्रय माटोमा मिल्ने भयो किनकि वेद वेदाङ्ग मात्र अध्ययन गरेर बसे पुग्नेमा व्यर्थमा अभिलेख बटुल्नमा समय परिश्रम अर्थ लगानी गरेको व्यर्थ हुने भयो । अझ संशोधन मण्डलको मुखपत्र पूर्णिमा अंक डेढसय दुइसय अंक प्रकाशित भइ सकेपनि वेद वेदाङ्गको बारेमा चर्चा गरिएको अंक बाहेक अरु सबै व्यर्थ सिद्ध भन्नु पर्ने हुन्छ । के उहाँहरु वेदाङ्ग ज्योतिषको निमित्त ती सबै श्रय ध्वस्त पार्न चाहन्छु भन्न सक्छ ? यो कुरा कुनै हालतमा सहमत हुँदैन भने वेदाङ्ग ज्योतिषको कुरा मात्र सकार्ने किन ? सवाल यही छ ।
पं भगवानलाल इन्द्राजी देखि धनवज्र वज्राचार्य, हरिराम जोशी,डा.डिल्लीरमण रेग्मी मात्र होइन अरु पनि तमाम इतिहासकारहरुको कृति ठूलो कि वेदाङ्ग ज्योतिष ठूलो भन्यो भने वेदाङ्ग ज्योतिष ठूलो भन्ने कोही पनि हुँदैन । यसमा स्वयं संशोधन मण्डलले पनि वेदाङ्ग ज्योतिष नै ठूलो भन्ने आँट छातिमा हात राखेर गर्न सक्दैन । त्यसकारण हावादारि गफ गर्दैमा हुने होइन ।
बालगंगाधर तिलकको प्रयास
भारतका प्रशिद्ध विद्वान बालगंगाधर तिलकले वैदिककाल गणना र वेदाङ्गज्योतिष नामक पुस्तक लेखेका थिए । उनलाई लोकमान्य बालगंगाधर तिलक पनि भन्ने गर्दछ । उनको जोड भनेको हिन्दु पञ्चाङ्गलाई वेदाङ्ग ज्योतिषअनुसारको हुनुपर्दछ भन्ने थियो ।
उनले यही विषयलाई उठाएर सन् १९१४ मा बम्बइमा ,सन् १९१७ मा पुनामा र सन् १९१९ मा सौगलीमा ज्योतिषविदहरुको बृहत गोष्ठी अन्तरकृया समेत गरेका थिए तर समाधानको लागि कुनै उपाय निस्कन सकेन र वेदाङ्ग ज्योतिष उपयोगी सिद्ध हुन सकेन किनकि वेद वेदाङ्ग भन्दा अभिलेख प्रमाण दरो भएको कारण नै मुख्य रहेकोले हो । बाल गंगाधर तिलकको नाम अघिसार्नेहरुले वेदाङ्ग ज्योतिष के हो नि बुझ्नु पर्दछ ।
पं नयराज पन्तको प्रयास
लिच्छविसंवत्को निर्णयमा पनि पं नयराज पन्तले वेदाङ्ग ज्योतिष बारे थुप्रै शव्द खर्च गरेको पाइन्छ किनकि महाभारतदेखि अष्टाध्यायी,सुश्रुतसंहिता ,कौटलीय अर्थशास्त्र, व्याकरण महाभाष्यमा समेतमा वेदाङ्ग ज्योतिषको उपयोगिता उपस्थित रहेको बखान गरिएको छ । परन्तु वेदाङ्ग ज्योतिषको जतिसुकै बखान गाए पनि यसले देखाएको बाटोबाट मुखमोडेर नाकले टेकी सौरार्य ब्राह्मपक्षीयतिथि गणितमा आउनु परेको यथार्थ प्रत्यक्ष रहेको छ । बेंकटेश केतकरले प्रतिपादन गरेको सौरार्य ब्राह्मपक्षीयतिथि गणित वेदाङ्ग ज्योतिषको अनुकूलको सिद्धान्त पनि बिल्कूलै होइन ।
त्यही बेंकटेश केतकरको सिद्धान्त प्रयोग गर्दा नाजायज भन्ने व्यक्तिले आफैले त्यही सिद्धान्त प्रयोग गरे भन्ने गुनासोको यथार्थ वर्णन शंकरमान राजवंशीको “लिच्छवि संवत्को परिचर्चामा” २५० वटा वादविवादका बुंदामा चर्चा गरिएको छ । त्यसमा पूर्णिमा अंक ३४मा लिच्छवि संवत्को निर्णय गर्न वेदाङ्ग ज्योतिष संझनु परेको कुरा पनि औंल्याएको छ । यहाँ सिद्धान्त यो ठीक यो बेठिक भनीरहनु भन्दा जुनसुकै सिद्धान्त प्रयोग गरेतापनि अभिलेखमा भएको तिथिमितिको गणना गर्दा त्यसमा भएको बार वेदाङ्ग ज्योतिषबाट ट्वाक्क मिल्न आएको हुनुपर्यो । तर कुरा यतिमा प्रयाप्त छैन कि वेदाङ्ग ज्योतिषको सिद्धान्तबाट भागेर बेंकटेश केतकरको सिद्धान्तमा ओर्लनु परेको किन?भन्ने प्रश्न नै अहम थियो ।
अर्को कुरा त्यही वेदाङ्ग ज्योतिषमा माघदेखि सूर्य उत्तरायण हुने दिइएको हुनु र त्यही वेदाङ्ग ज्योतिषको सहारा लिएर पुष ७ गते देखि सूर्य उत्तरायण हुन्छ भनेर मान्छेलाई बहकाइ दिएको कुरा लिच्छविसंवत्को निर्णयमा छ । यसरी मान्छेलाई दिग्भ्रमित पार्नु बिल्कूल नाजायज हो ।
पर्वसुधारको अभियन्ताको प्रयास
सूझबूझ केही नभएका एक झुण्ड मानिसहरु अभियन्ता बनेर पर्वसुधार । पर्वसुधार भन्दै भौंतारिंदै घामनाप्दै दगुरीरहेको देखिएको छ । उनीहरुले पनि समाउने त्यान्द्रोको रुपमा वेदाङ्ग ज्योतिषलाई नै समाइरहेको छ तर वेदाङ्ग ज्योतिष बुझेर समाएको चाहिं होइन । वेदाङ्ग ज्योतिषमा पाँच वर्षमा दुइचोटी अधिमास पर्छ भनेको कुुरा पनि पं नयराज पन्तको लिच्छविसंवत्को निर्णयमा छ भने ३८ वर्षमा १५ मलमास पर्नेमा एउटा छोडेर १४ मान्दा सौरमान र चान्द्रमान बराबर हुन्छ भन्ने पनि छ । यहीे कुरा त्याप्प टिपेर फलाक्दै हिंड्ने अभियन्तालाई ३६६ दिनको सौरवर्ष भएको क्यालेण्डर कसरी, कसले बनाउँछ पनि थाहा छैन । न त दुइ वर्षमा र तीन वर्षमा अभिलेखमा पौषमा अधिमास परिरहेको थाहा हुनु तर वेदाङ्ग ज्योतिषले त अढाइ अढाइ वर्षमा अधिमास पर्छ त्यो पनि एकचोटी आषाढमा अर्को पौषमा पर्नु पर्ने हुन्छ भनिएको कुराको कुनै मेलोमेसो नै थाहा छैन । त्यसरी पाँचपाँच वर्षमा दुइचोटी अधिमास परेको भए मात्र ३८ वर्षमा १५ वटा अधिमास पर्छ १८ महिना २४ महिना र ३६ महिनामा २ चोटी अधिमास परेपछि ३८ वर्षमा कतिचोटी पर्छ स्वयं नयराज पन्तलाई कुनै हेक्का छैन भने ती बवुरा अभियन्ताहरुलाई के थाहा होस् बिचरा । यसरी पन्तले वेदाङ्ग ज्योतिष हवाला दिएर थरिथरिको कुरा गरेको अत्तोपत्तो छैन । खाली पर्वसुधार भनेर उफ्रीरहेर हुँदैन ।
प्रा.डा. प्रमोदवर्धन कौण्डिन्न्यायनको भनाई
गत २०८२ वैशाख २० गतेको गोरखापत्रको अनलाइनमा “लिच्छवि संवत्को निर्णयमा संशोधन” शीर्षकको उहाँको लेख छापिएको देखियो । उहाँले पनि पं नयराज पन्त अर्थात् वेदाङ्ग ज्योतिषको कुरा सापटी लिएर पाँचवर्षमा दुइ चोटी अधिमास पर्नै पर्छ र ३८ वर्षमा १५ वटा अधिमास पर्छ त्यसमा १ वटा अधिमास छोडेर १४ वटा अधिमास मान्दा सौरमान र चान्द्रमान बरावर हुन्छ भन्ने कुरालाई समर्थन गरेको छ । परन्तु यसले लिच्छवि संवत्को निर्णयमा संशोधन भन्ने कुरा झल्केन । संशोधन झल्काउन उहाँले लिच्छविकालमा चलेको संवत् पन्तले कार्तिकादि भनिएको अशुद्ध हो र कार्तिकादि मानेर गरिएको गणना सबै अशुद्ध हो त्यो कुरा संशोधन हुनुपर्ने भनेर राखियो । अर्को वि.सं ६३३ देखि मानदेवसंवत् उठेको भन्ने पन्तको मत हो । त्यो पनि अशुद्ध हो शुद्ध चाहि ६३४ हो भनिएको छ ।
संशोधन मण्डललाई समेत भलिभाँति थाहा छ कि नेपालसंवत्को उठान वि.सं ९३६ कार्तिकमा भएको हो वि.सं ९३७ कार्तिकमा होइन तर सुमतितन्त्र च्याप्नु पर्नाको कारण ६३३ र ३०४ लिनु परेको हो । किनभने मानदेवसंवत् ३०४ वर्ष चलेको भनेपछि त्यसमा ६३३ जोड्दा वि.सं ९३७ आएको देखाएर दुनियाँलाई उल्लू बनाए । यसमा अरु दुई चार जनालाई प्रभावमा पार्न सकेकोले उनीहरुले मात्र त्यो लयमा लागे तर वि.सं ९३७ कार्तिका नेपालसंवत् उठान भएको कुरा सकारेको होइनन् । कतिपयले त्यो कुरा गलत थियो भनी थाहा पाएपनि होस् भनी फलाक्न दिइरहेका मात्र हुन् । वास्तवमा वि.सं ९३७ कार्तिकमा नेपालसंवत् उठेको कुरा ठीक भनेर जिद्दी गर्ने पं नयराज पन्त र उनका आज्ञाकारी छोरा दिनेशराज पन्त मात्रै देखिए । उहाँका अर्को छोरा महेशराज पन्त खुद पनि नेपालसंवत् उठेको वि.सं ९३६ कार्तिक नै ठिक हो भन्ने पक्षमा थिए भन्नेकुरा वि.सं २०३९ सालमा प्रकाशित भएको “नेपालसंवत्को राष्ट्रिय मान्यताको अनौचित्य” नामक पुस्तक पल्टाएर हेरको खण्डमा पृष्ठ २१ मा प्रत्यक्ष देख्न सकिन्छ । यसबाट पनि प्रष्ट बुझिन्छ कि ६३३ जोड्ने कुरा केवल सुमतितन्त्र च्याप्ने बेलामात्र प्रयोग गर्ने अरुबेला ६३३ को कुरै नगर्ने भन्ने संशोधन मण्डलको द्वैधचरित्र प्रष्ट भइरहेको हो ।
यस प्रकार ६३३ जोड्ने कुरा त सारा इतिहासकारहरुलाई घाँडो भइरहेको छ भने अब प्रा.डा कौडिन्न्यायन महाशयले ६३४ जोड्ने कुरा ल्याएर कतिजना समर्थक बटुल्ने दाउ छ उहाँको थाहा छैन । विगतमा ६३३ जोडेर त्यसको प्रभावमा परेर बनेको इतिहासको रुपरेखा गलत भइरहेको सच्याउन त महामुस्किल भएर इतिहासकारहरु बिलखवन्दमा परिरहेको देख्दादेख्दै अर्को प्रा.डा टुप्लुकिन आएको छ । अतः वि.सं ९३७ कार्तिकमा नेपालसंवत् उठान भएको कुरा त सिद्ध हुन नसकिरहेको अवस्थामा वि.सं ९३८ कार्तिकमा नेपालसंवत् उठेको पत्याउने मान्छे कुन ध्रुवबाट ल्याउने सूर छ उहाँको आश्चर्य लागेको छ ।
निष्कर्ष
जो सुकैले जे सुकै भनुन् अभिलेख प्रमाणको बिकल्प छँदै छैन । किनभने वेद वेदाङ्ग,कथा पुराण, वंशावली आदि इत्यादिको आधारमा जतिसुकै ठूलो महाग्रन्थ तयार गरी अगाडि ल्याइएपनि त्यो कुरा ठुल्ठूलो स्वरले चिच्याए पनि अभिलेख प्रमाणको अगाडि ती सब फितलो नै हुने हुन् । संशोधन मण्डल स्वयं पनि वेद वेदाङ्गको पक्षमा हो कि अभिलेखको पक्षमा भनी सोधेभने पनि अभिलेख कै पक्षमा भन्न बाध्य हुनुपर्ने हुन्छ । यदि वेदाङ्ग ज्योतिषको पक्षमा छु भनियो भने उनीहरुको कृतिहरु प्रमाण प्रमेय, अभिलेख संग्रह,पूर्णिमा अंक सबै फाल्तू सिद्धहुन गइ कमाएको सारा साख गुमाउनु पर्ने हुन्छ । तैपनि वेदाङ्ग ज्योतिष अघिसारेर आफनो स्वार्थसिद्ध गर्ने उद्योगमा लागेर दुनियाँको समय बरवाद त गराइ हाले । यसमा केवल संशोधन मण्डल मात्रै जिम्मेवार होइनन् उहाँहरुलाई महामानव ठानेर पूजा गर्दै आइरहनेहरु पनि कम दोषी होइनन् । त्यसकारण जोसुकै होउन् इतिहास भाँड्ने कुरा गर्नु हुँदैन र त्यो सार्मथ्य कसैसंग छँदापनि छैन । यति हेक्का सबैमा रहोस् ।


