
काठमाडौं । शुक्रबार “मेरो ध्यान यात्रा” शृंखलाअन्तर्गत बुद्ध प्रकाश फाउन्डेसनमा लोचावा पुण्यप्रसाद पराजुलीद्वारा विशेष अनुभव साझेदारी कार्यक्रम सम्पन्न भयो।पराजुलीको जीवन यात्रा पूर्वी नेपालको दुर्गम पहाडी जिल्ला भोजपुरबाट शुरु भएको हो। परम्परागत हिन्दू परिवारमा जन्मिए पनि, उनी सानैदेखि अध्ययन र साधनाप्रति आकर्षित थिए। पढाइमा मेधावी उनी गाउँमै एसएलसी पूरा गरेर उच्चशिक्षाका लागि काठमाडाैं आएपछि उनको यात्रा बुद्धधर्मतर्फ मोडिएको हो ।

उनको ध्यान यात्रा एस एन गोयन्का जस्ता थेरवाद परम्पराका ध्यान गुरुहरूबाट सुरु भई, महान तिब्बती गुरु टुल्कु उर्ग्येन रिन्पोछे हुँदै आजसम्म तिब्बती वज्रयान परम्परामा जारी छ।
पराजुलीले झाेङ्सार ख्येन्त्से रिन्पोछे, छोकि निमा रिन्पोछे, मिङ्ग्युर रिन्पोछे, छोक्न्यी रिन्पोछे,४१औं साक्या ठ्रिजिन रिन्पोछे लगायत थुप्रै गुरुहरूबाट शिक्षाहरू प्राप्त गरेका छन् ।

उक्त शिक्षाहरूले उनको जीवनमा गहिरो रूपान्तरण ल्याएको पराजुलीले बताए । “यी अभ्यासहरूले मलाई भित्रैदेखि परिवर्तन गरे — अब म कम रिसाउने, गहिरो डरहरूबाट मुक्त, र जसले सिधै हानी नै पुर्याउँछन्, त्यस्ता मानिसहरूमा पनि म सबैको भलाइ देख्न सक्ने भएको छु।”

उनी भन्छन् कि अब मृत्युप्रति पनि कुनै भय छैन। “मृत्युलाई पनि अब म भयको रूपमा होइन, ज्ञान र मुक्ति प्राप्त गर्ने अवसरको रूपमा हेर्छु। यो बोध अभ्यासबाट मात्र सम्भव भयो।”
कार्यक्रममा सहभागीहरूले उनको जीवनयात्राबाट अत्यधिक प्रेरणा लिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रम १ घण्टा ३० मिनेटको लागि तय गरिएको भए पनि सहभागीहरूको गहिरो रुचिका कारण यो सत्र दुई घण्टा भन्दा बढी समयसम्म चल्यो। त्यसपछि करीब एक घण्टा आत्मीय चिया–कुरा कार्यक्रम पनि सम्पन्न भयो।कार्यक्रम अत्यन्त आत्मीय, संवादमुखी, र सारगर्भित भएको फाउन्डेसनका कार्यकारी निर्देशक अरुण पौडेलले बताए ।

