
हिक्मत डंगोल
५ जेठ २०८२, काठमाडौं | नेपाली कला र संस्कृतिको सौन्दर्य बुझ्न र कला पर्यटन प्रवर्द्धन गर्न २० विभिन्न देशका कलाकारहरू पाटन म्युजियममा भेला भएका छन्। मे १६ देखि २५ सम्म सञ्चालन भइरहेको ‘हिमालयन आर्ट क्याम्प’ अन्तर्गत उनीहरूले १० दिने आवासीय कार्यशालामा सहभागिता जनाइरहेका छन्।
जेठ २ गतेदेखि सुरु भएको यस कार्यशालामा नेपाली र विदेशी कलाकारहरूले एकअर्काको कला र संस्कृतिको अनुभव आदानप्रदान गरिरहेका छन्। आयोजक संस्था ‘हिमालयन आर्ट क्याम्प’की सञ्चालक एरिना ताम्राकारका अनुसार, “कार्यशालाले कला र संस्कृतिको अन्तर्राष्ट्रिय सम्वादका लागि सशक्त मञ्च निर्माण गरेको छ। यसले सृजनात्मकता प्रवर्द्धन गर्दै नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्य राखेको छ,” ताम्राकारले भनिन्।
नेपालसहित इटाली, क्यानडा, चीन, जापान, मलेसिया, रोमानिया, थाइल्याण्ड, अमेरिका, भियतनाम, सिंगापुर, कम्बोडिया, फिलिपिन्स, दक्षिण कोरिया, र इन्डोनेसियालगायतका देशका कलाकारहरूको सहभागिता रहेको कार्यक्रममा किरण मानन्धर, नविन्द्र मान राजभण्डारी, सीमा शर्मा साह, लोक चित्रकार, भुवन थापा, समुन्द्रमान सिंह, सुष्मा शाक्य, अनिल साही, प्रतिमा थकाली र सविता डंगोलजस्ता चर्चित १० नेपाली कलाकारहरू सहभागी छन्।
कार्यशालामा सहभागी इटालियन कलाकार जिसिपी स्ट्रानो नेपालप्रति गहिरो प्रभावित देखिन्छिन्। “नेपालको सांस्कृतिक सम्पदा अत्यन्त प्रेरणादायी छ। काठमाडौं त मलाई इटालीको रोमझैं लाग्यो। नेपाली कला र संस्कृतिका विभिन्न पक्षबारे जानकारी पाइरहेको छु। त्यसबाहेक नेपाली र विदेशी कलाकारहरूको कामबारे बुझ्ने अवसर पाइएको छ। मैले कलासम्बन्धी अनुभव सुनाउन सक्छु भन्ने लागेको छ। म यहांको प्राकृर्तिक र विशेष गरी सांस्कृतिक सम्पदा देखेर प्रभावित भएकी छु।”
उनले भनिन्।
त्यस्तै, रोमानियाकी ईभा राडुले नेपाललाई ‘कलाकारको लागि अनिवार्य गन्तव्य’ भन्दै पाटनका मन्दिरहरूमा कुँदिएका बुट्टाहरू र स्वयम्भुनाथको आध्यात्मिकताको विशेष चर्चा गरिन्।नेपाल साँच्चिकै कलाकारका लागि घुम्नै पर्ने देश रहेछ ।नेपालको कला , संस्कृति बारे जानकारी लिन इच्छुक भएकाले म यहाँ आइपुगेकी हुँ। नेपाली कलाका विभिन्न पक्षबारे यहाँ आएपछि निरन्तर जानकारी पाइरहेको छु,’ उनी भन्छिन। जहां सम्म मेरो कला यात्रा छ , म बच्चा देखि नै कला क्षेत्रमा लागि परेकी हुं। “ उनले सुनाइन।
क्यानडाकी अमूर्त कलाकार लिसा लार्सन लीले नेपाली कलाकारहरूको कार्यक्षमता अत्यन्त प्रभावशाली रहेको बताइन्। मिश्रित मिडियामा काम गर्ने लिसाले भनिन्, – “ नेपालको कला र संस्कृति साँच्चिकै प्रेरणादायी छ। यहाँको सृजनात्मक ऊर्जा बेग्लै प्रकारको छ।” लिसाले क्यानभास, कागज र प्यानलमा सिर्जना गर्छिन्, मुख्यतया ; एक्रिलिक र मिश्रित मिडियामा काम गर्छिन् र विभिन्न बनावट माध्यमहरू, फेला परेका वस्तुहरू र धातुको पातहरू समावेश गर्छिन्। लिसाको एक्लेक्टिक शैलीले प्रकृति र मानव निर्मित दुवैमा अनौठो र भाँचिएको ढाँचाहरूमा उनको रुचि झल्काउँछ। रूप वा औपचारिक दर्शनमा कुनै प्रतिबन्ध बिना, लिसा आफ्नो अन्तर्ज्ञानले उनलाई मार्गदर्शन गर्न स्वतन्त्र छिन्। उनको गैर-प्रतिनिधित्वात्मक टुक्राहरू र थप लाक्षणिक काम दुवैमा, तपाईंले तहहरूको समृद्ध इतिहास पाउनुहुनेछ – एक पालिम्पसेस्ट: बिर्सिएको बिना अधिलेखन – जसले दर्शकहरूलाई आफ्नै व्यक्तिगत यात्रामा डोऱ्याउँछ। उनी नयाँ विचारहरू र सामग्रीहरूसँग अन्वेषण गर्न र प्रयोग गर्न मन पराउँछिन् र उनको प्रक्रियाको अमूल्य भाग खेल्न मान्छिन्। अपेक्षा वा गन्तव्यबाट बाधा नपुगेर, उनी आफ्नो काममा त्यो स्वतन्त्रता चम्किरहेकोमा खुशी छिन्।
थाइल्यान्डका वरिष्ठ कलाकार वाटन्चोट टोन्गेजाले भने, “नेपाल मेरो दोस्रो भ्रमण हो। यहाँको जनजीवन, सांस्कृतिक विविधता र प्रकृतिको सौन्दर्य देखेर सधैं केही नयाँ सिकेर जान पाउँछु। लुम्बिनी भ्रमण गर्न पाए हुन्थ्यो भन्ने चाहना अझै बाँकी छ।”
यस प्रकार, कला र संस्कृतिको साझा अनुभवका माध्यमबाट नेपाल र विश्व कलाकारहरूबीच सिर्जनात्मक सेतु निर्माण गर्दै यो कार्यशालाले नेपाली कला र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।



