
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले गणतन्त्र दिवसको अवसरमा देशवासीलाई शुभकामना दिएका छन् ।
आफ्नो शुभकामनामा उनले भनेका छन् -‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली,राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक,निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।’
लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ,‘नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी,अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ ।’



