
काठमाडौं, बैशाख ३ गते ।अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लबले करातेका मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ । डिस्ट्रिक्ट ३० का एसेमब्ली मेम्बर स्टेभन रागाले शेखुलाई १ हजार अमेरिकी डलर र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको क्लबका अध्यक्ष सुनिल लामाले जनाएका छन् ।
शेखु युएसए ओपन कराते प्रतियोगिता खेल्न हाल अमेरिकामा छन् । लस भेगसमा अप्रिल १८ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शेखुले पुरुष ८४ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । करियरको १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा शेखुले ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेका छन् । त्यत्तिनै घरेलु प्रतियोगितामा शेखुले ९ स्वर्ण, १ रजत र ४ कांस्य हात पारेका छन् ।



