काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार अहिले बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।
राति कोशी, मधेस र बागमती लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।


