
राजधानी काठमाडौबाट ३२ कि.मि. दक्षिणपूर्वी दुरीमा ११८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको पनौती नगरपालिका समुद्री सतहबाट १३४० मि.देखि २७८२ मि. सम्मको उचाइमा अवस्थित छ । यस नगरमा औषत वर्षा १२०० मि.मि हुन्छ । न्यूनतम ० डिग्री देखि अधिकतम ३२ डिग्री सेल्सियस सम्म तापक्रम रहन्छ । मलिलो किसिमको बलौटे र रातोमाटो रहेको यस नगर क्षेत्रमा १०८४४ घरधुरीमा ५६३२९ जनाको बसोबास रहेको छ । “कृषि कला र संस्कृति हाम्रो चिनारी, हरित पर्यटकिय गौरवमय संमृद्व पनौती” भन्ने नाराअघि सारेर सोहि आफ्ना निति तथा कार्यक्रम संञ्चालन गरिएकोबाट पनि पनौती नगर कृषि नगर भनेर चिनिन्छ ।
पशुपालनको मुख्य उदेश्य दुध र मासु उत्पादन भएता पनि सहायक उदेश्यको रुपमा कम्पोष्ट मल (गोबर मल) उत्पादन गरि खेतिपाती गर्नु तथा स्वरोजगारीको अवसर पनि हो । गाई भैसी र बाख्रापालन बाट हुने आम्दानीले नै अधिकांश नागरिकको जिविकोपार्जन भईरहेको छ । पशुपालनको साथ साथै अन्नखेती,तरकारी खेती गर्नुपर्ने परम्परा या बाध्यताका कारण एउटै मात्र व्यवसाय गरिएको पाईदैन यसको मतलब यो हो कि कृषि र पशुपालन एक अर्कोसंग अन्तर निहित रहन्छ । कृषिको उत्पादन तथा उप–उत्पादन नै पशुको मुख्य आहारको रुपमा प्रयोग हुने भएकोले पशुपालक कृषकहरुले पशुपालन व्यवसायलाई मात्रै एकल व्यवसायको रुपमा अंगाल्न सकिरहेका छैनन । समथर भू–भाग, माानव बस्तीको लागि उपयूक्त क्षेत्र भएका कारण पनौतीका समथर खेतियोग्य जमिन मासिदै गएको छ भने ग्रामिण क्षेत्रमा रहेको भिरालो जग्गा जमिन दिन प्रतिदिन बाँझो हुदै गएको छ ।

पशुपालनको अवस्था :
पनौती क्षेत्रमा व्यवसायिक पशुपालन भन्दा निर्वाहमूखि पशुपालन भईरहेको छ जुन परम्परादेखि हुदै आएको छ तथापी उत्पादनशिल पशु, उन्नत घाँसको प्रयोग, नश्ल सुधारका कार्यक्रम आदीको कारणबाट पशुजन्य उत्पादनमा बृद्वी भईरहेको देखिन्छ । नश्ल सुधारको माध्यमबाट जर्सी क्रस, होलीस्ट्रेन क्रस गाई , मुर्रा क्रस भैसीहरु र जमुनापारी र वोयर क्रस जातका बाख्राहरुको बृद्वी भई कृषकहरुले मन पराएर पालिएका छन । प्रायः जसो घरमा गाई,भैसी तथा बाख्राहरु नै पालिएका छन । २० हजारको हाराहारीमा गाई भैसी(पाडाबाच्छा सहित) बाट दैनिक अनुमानित ६० हजार लि.दुध उत्पादन भई घरायसी प्रयोजनमा खर्च भई बाँकी अनुमानित ४५ हजार लि दुध कृषहरुबाट विक्री हुने गरेको छ । पशुपालन गरिने गोठ पूर्ण रुपमा आधुनिक नभएता पनि अधिकांश गोठहरु सुधारिएका छन जसमा पशु वस्ने ठाउ ढलान, पिसाव वग्ने नाली, भेन्टीलेशन तथा प्रकाशको उचित व्यवस्थापन गरिएको छ । व्यवसायिक रुपमा पशुपालन गरिरहेको गोठमा पशुवस्तु वस्ने ठाउमा काउ म्याटको प्रयोग तथा ढोड पराललाई टुक्राएर भुसा बनाउने मेशिन (च्याफकटर)को प्रयोग गरिएकोले पशुपालन क्षेत्रमा आधुनिकिकरण हुदै गरेको देखिन्छ । 

पशुपालनको सम्भावना :
पनौतीमा उत्पादन भएको पशु तथा पशुपन्य पदार्थको खपत हुने ठुलो बजार क्षेत्र काठमाडौ उपत्यका नजिकै रहेको र पनौतीमा नै पनि दुध प्रसोधन र विविधिकरण गर्ने उद्योग संञ्चालन भइसकेको लगाएत तपशिलका आधारहरुबाट पनौती क्षेत्रमा पशुपालनको सुनौलो सम्भावना रहेको छ ।
१. जग्गा जमिन तथा पानीको उपलव्धता :
भिरालो तथा समथर जमिन भएको पनौती क्षेत्रमा पशुपालन व्यवसायको अत्यन्तै सम्भावना रहेको छ । पाखोबारी तथा काल्लाहरुमा उन्नत जातका भूईघाँस डालेघाँस खेति गरि वर्षै भरि हरियो घाँसको उपलव्धता गराउन सकिन्छ । डाँडापाखाका खोल्सा खाल्सीमा बग्ने पानीको प्रयोग गरि हिउदको वेलामा पनि हरियो घाँस उत्पादन गर्न सकिन्छ ।

२. बजारको पहुँच :
पशुपालन व्यवसायबाट उत्पादन हुने दुध र मासुको माग अत्याधिक भईरहेको र विक्रि वितरणको लागि बजारको समस्या नभएको कारणबाट पनि पशुपालन व्यवसायको बर्तमान र भविश्य सुनिश्चित देखिन्छ ।
३. मूल्यको सुनिश्चितता :
पशुपालन व्यवसायबाट उत्पादित दुध तथा मासुको विक्रिको लागि मुल्य स्थिर हुने वा बढ्ने तर नघट्ने कारण यस व्यवसायमा मुल्यको कारणबाट हुने जोखिम हुदैन ।
४. सडकको सुविधा :
प्रत्येक टोल बस्त िर घरघर सम्म मोटरबाटो भइसकेको हुँदा पशुजन्य उत्पादनको ढुवानी,खरिद विक्री वितरणमा असुविधा व्यहोर्नुपर्ने छैन ।
५.स्वरोजगारीको सिर्जना :
पशुपालन व्यवसाय गरि उत्पादित दुधको प्रसोधन तथा विविधिकरण गरि उच्च मुल्य पाइनुको साथै स्वरोजगारी सिजैना गर्न सकिन्छ । जस्तै आफुले उत्पादन गरेको दुधलाई घरैमा खुवा,पनीर बनाई उच्च मुल्यमा विक्री गर्न सकिन्छ ।
६. प्राविधिक सेवाको उपलव्धता :
पनौती क्षेत्रमा पशुपालन गरिरहेका कृषकहरुलाई आफुले पालेका पशुहरुमा समस्या पर्दा उपचार गर्न प्राविधिक सेवाको आवश्यकता पर्दा विज्ञ प्राविधिक तथा मध्यम स्तरिय प्राविधिक सेवा सहज रुपमा उपलव्ध भईरहेको छ ।
व्यवस्थापकीय पक्षहरु
परम्परागत एवं निर्वाहमुखी पशुपालन व्यवसायलाई क्रमशः आधुनिकिकरण गर्दै सम्मानजनक पेशा तथा आय आर्जनमा बृद्वि गर्नको लागि स्वयं कृषक तथा राज्यले निम्न उल्लेखित व्यवस्थापकीय विषयहरुमा ध्यान पुरर्याउनु पर्दछ ।
१. उन्नत जातका घाँसमुखि पशुपालन :
निर्वाहमूखि पशुपालन व्यवसायमा आफ्नै खेत बारी पाखोमा भएका रैथाने घाँसको उपयोगले पशु आहारको पूर्ति भईरहेको अवस्थामा व्यवसायिक पशुपालनमा उन्नत जातको घाँस उत्पादन हुन आवश्यक छ । रैथाने घाँस खेतिमा उत्पादन कम हुने तथा कम पौष्टीक तत्व पाइने कम गुणस्तरिय हुने भएकोले पशुको बृद्वि विकास र उत्पादनमा असर पार्दछ । हिउदको समयमा हरियो घाँसको अभाव हुने भएकोले वर्षयामको समयमा उत्पादन हुने घाँस (मकैचरी,नेपियर सेटेरिया आदी) बाट साइलेज (गुन्द्रुके घाँस) बनाएर हिउदमा उपयोग गर्नुपर्दछ । पशुपालन व्यवसायमा कुल खर्चको ७०% आहारमा खर्च हुने भएकोले पशु आहाराको लागतलाई घटाउनु पर्छ । अहिलेको प्रमुख समस्या नै आहारामा लागत बढ्नु हो त्यो पनि कम गुणस्तरिय भुसा,पराल र ढूटोमा । खेर गईरहेको वा बाँझो जमिनको समुचित प्रयोग गरेर माटो हावापानी र मौसाम अनुसारको घाँसखेति गर्नुपर्छ । घाँसमा पनि कोसे अकोसे भूइघाँस डालेघाँस लगाउनुपर्छ । अहिलेको सन्दर्भमा तराईबाट पशु आहारको रुपमा ल्याइने भुसा र ढुटोलाई प्रतिस्थापन गर्न आफ्नै जग्गा जमिनमा घाँसखेती गरियो भने उत्पादन लागत घटाउन सकिन्छ । व्यवसायिक पशुपालन गर्नुभन्दा कम्तीमा २ वर्ष अधिबाट बहुवर्षे घाँस लगाउनु पर्छ ।
२.दानाको कच्चा पदार्थको व्यवस्थापन :
पशुहरुको लागि गुण्स्तरिय अन्नजन्य आहारा (दाना) तयार गर्ने कच्चा पदार्थ विदेशबाट आयात भईरहेको छ । दाना बनाउन प्रयोग गरिने मुख्य अन्न मकै नै भारत लगाएत तेस्रो मुलुकबाट आयात भई खपत हुँदा मुल्य महँगो हुन गई लागत बढ्ने हुनाले स्थानिय स्तरमा उत्पादन हुने अन्नबाली (मकै गहँु तोरी भटमास) को उत्पादन गरेर आफैले गुणस्तरिय दाना तयार गरि प्रयोग गर्न सकिएमा सस्तो र दिगो व्यवस्थापन हुन सक्छ । पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्दे यस क्षेत्रमा विकास गर्ने सन्दर्भमा सरकारी तवरबाट पनि स्वदेशमा दानाको कच्चा पदार्थ उत्पादन बृद्वि गराउने विशेष कार्यक्रम संञ्चालन गरि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
३. उन्नत नश्लको छनौट :
जंगबहादुर राणाले बेलायतबाट उन्नत जातका २ वटा जर्सी गाई र १ वटा साँढे नेपालमा ल्याए पश्चात नेपालमा उन्नत जातको पशु भित्रिएको पाइन्छ । उच्च उत्पादनको लागि उन्नत नश्लका पशुपालन गर्नु पर्दछ । हामीसंग भएका स्थानिय जातका पशुहरुमा उन्नत नश्लको साँढे वा राँगोबाट प्रकृतिक रुपमा वा कृत्रिम गर्भाधान गराएर पशुको नश्ल सुधार हुदै आएको छ जसका कारणबाट उत्पादन र उत्पादकत्वमा क्रमशः बृद्वि भइरहेको छ ।
४. सहुलियत ऋणको व्यवस्था :
साहु माहाजनसंग चर्को व्याजमा ऋण लिएर पशुपालन व्यवसाय गर्दा क्षणिक र देखावटी किसिमको मात्रै हुन्छ तसर्थ सरकारले पशुपालन व्यवसायमा कृषकहरुलाई प्रोत्सहान गर्न सहुलियत ऋणको व्यवस्था गरिनुपर्छ । सरकारले सहुलियत ऋणको व्यवस्थाको विषयमा जे जति गरेपनि झन्झटिलो छ, अव्यवहारिक छ, पहुँच बाहिर छ भन्ने आम कृषकहरुको भनाई रहेको सुनिन्छ । यस सन्दर्भमा सरकारले सेवाग्राहीका समस्या तथा गुनासो सजिलै बुझि सजिलैसंग कृषकसम्म सेवा पू¥याउने कार्य गर्न आवश्यक छ ।
५. अनुदानका कार्यक्रममा परिमार्जन :
सरकारी निकायबाट सञ्चालन भईरहेका अनुदानका कार्यक्रम आलोचनाको विषय भइरहेको र उपलव्धी पनि सन्तोजनक नभई रहेको सन्दर्भमा उत्पादनमा आधारित अनुदानका कार्यक्रम मार्फत कृषकहरुलाई सम्बोधन गर्न सक्नुपर्छ अन्यथा अनुदानको उपलव्धी बालुवामा पानी भन्ने उखान नै चरितार्थ हुने छ ।
६. उत्पादित वस्तुको बजारीकरण :
कृषकहरुबाट उत्पादित बस्तुको खरिद विक्री तथा बजारीकरणमा सरकारले अपनत्व लिएर हस्तक्षेपकारी भूमिका नगरे सम्म कृषकले उचित मुल्य नपाउने वा नविक्ने तर मध्यस्तकर्ता (व्यापारी) ले अनुचित किसिमले फाइदा लिइरहेको परिपेक्षमा सरकारले आफ्नो उपस्थिती देखाएर कृषकहरुलाई न्याय दिन सक्नुपर्छ ।
७. विमाको व्यवस्था :
“चारखुट्टे धन मेरो नभन” भन्ने बुढापाकाको भनाईबाट नै बुझिन्छ कि पशुधन जुनसुकै वेला जोखिममा छ । यस्ता जोखिममा रहने पशुको जोखिम बहन गर्ने कार्य वीमा हो । सरकारले पशु वीमा गरेवापत पशु धनिलाई ८०% अनुदान उपलव्ध गराउदै आएको छ तथापी ग्रामिण क्षेत्रका गोठ सम्म वीमाको पहुँच पुग्न सकेको छैन । पनौतीको सन्दर्भमा नेपाल सरकारले पशु विमामा दिएको ८०% अनुदान रकम बाहेक कृषकले तिर्नुपर्ने २०% रकमलाई १००% मानि त्यसको ५०% रकम कृषकहरुलाई अनुदान उपलव्ध गराइएको छ यद्यपी कृषकहरुले पशु वीमा गर्न अझैपनि आनाकानी गरेको पाइन्छ ।
(लेखक पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखामा अधिकृत छैठौं प्राविधिकको रुपमा कार्यरत हुनुहुन्छ )









