
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
थापाले शनिबार खड्का र आइतबार कोइरालासँग भेट गरी पार्टीको आन्तरिक अवस्था तथा आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।
आज दिउँसो भएको भेटमा सभापति थापा र नेता कोइरालाबीच पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको थियो । कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए ।
कोइरालाले पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको बताएका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।
यसैबीच, आसन्न महाधिवेशन तथा भोटेकोशी बाढीपछिको राहत र पुनर्निर्माणलगायत विषयमा छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा पार्टीभित्रको पछिल्लो विवाद र आगामी राजनीतिक रणनीतिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।




