
काठमाडौँ । चेल्सीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
चेल्सीले सोमबार क्रेभेन कटेजमा घरेलु टोली फुलहमविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्यो ।
चेल्सीलाई जित दिलाउन जोआओ पेड्रो, मार्गन रोजर्स र कोल पाल्मरले गोल गरे । फुलहमका जोश किंग र गोन्जालो गार्सियाले गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै पेड्रोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । २३औँ मिनेटमा किंगले फुलहमलाई बराबरीमा ल्याए ।
रोजर्सले ४१औँ मिनेटमा गोल गर्दा चेल्सी २–१ ले अगाडि बढ्यो । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै पाल्मरले टोलीका लागि तेस्रो गोल गरे ।
गार्सियाले ५४औँ मिनेटमा गोल गर्दै फुलहमलाई खेलमा फर्काउन प्रयास गरे पनि पर्याप्त बन्न सकेन ।
विजयी सुरुआत गरेको चेल्सीले तीन अंक जोडेको छ ।

