
काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रान्तमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा कम्तीमा दुईजनाको मृत्यु भएको छ । घर भत्किँदा अर्का एकजनाको मृत्यु भएको छ ।
भूकम्पका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रमा सडकहरूमा चिरा परेको रोयटर्सले जनाएको छ ।
भूकम्पपछि विस्फोट भएको ‘एओन मल कुमामोटो’मा रातभर उद्धार कार्यमा खटिएका उद्धारकर्मीहरूले आठजनालाई भग्नावशेषबाट बाहिर निकालेको प्रान्तीय सरकारले बुधबार बिहान जनाएको छ ।
आठजनामध्ये २०/२० वर्षका दुई युवतीको मृत्यु भएको पुष्टि भएको छ । अर्का एकजनाको कार्डियोपल्मोनरी अरेस्ट भएको बताइएको छ । अन्य पाँचजना घाइते भएका छन् । उनीहरूको अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि भएको विस्फोटको वास्तविक कारण अझै स्पष्ट हुन नकेको छैन ।
आपत्कालीन अग्नि उद्धार टोली, प्रहरी र आत्मरक्षा बलका जवानहरूले रातभर संयुक्त रूपमा उद्धार तथा खोजी कार्य सञ्चालन गरेका थिए ।
जापानको दक्षिणपश्चिमी टापु क्युशुमा पराकम्पहरू आउने क्रम जारी छ ।



