
धनुषा ।नेकपा (एमाले)का नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
महोत्तरीको गौशाला–२ का कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो।
मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार थिए। कोइरी यसपालि पराजित भएका थिए।
कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ।
