
काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका पनि बोर्डले जनाएको छ ।
सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । यी मध्ये अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ७३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको पनि उनले बताए ।



