
काठमाडौँ। फुटबलको महाकुम्भ विश्वकप-२०२६ आज मध्यराति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरू हुनेछ।
४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्।
यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।
प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्।
जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ।
नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्।

