
सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ का २८ वर्षीय मिथलेश चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् ।
चौधरीको घरमा खानतलासी गर्दा ११३.९१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नेपाली नगद रु. २,७५,३००, भारतीय रुपैयाँ १,२५०, सुन जस्तो देखिने तिलहरी १ थान, नेकलेस १ थान, डिजिटल तराजु, मोबाइल १ थान, कैंची तथा अन्य लागू औषध कारोबारमा प्रयोग हुने सामाग्री फेला परेको प्रहरीको भनाइ छ ।
त्यसैगरी राज नन्दन चौधरीको साथबाट १०.७१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नगद रु. २,१००, र मोबाइल १ थान बरामद गरिएको छ।






