काठमाडौं । ओपनर लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरेपछि जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको च्याम्पियनको उपाधी चुमेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनपकुर एनपिएल च्याम्पियन बनेको हो।
सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य जनकपुरले विकेटको ५ क्षतिमा १९.२ ओभरमा पूरा गर्यो।
जनकपुरको जितमा श्रीलंकन मूलका अमेरिकी विकेटकिपर ब्याटर लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरे। उनले ४९ बलमा ८७ रन जोडेपछि जनकपुरलाई जित निकाल्न सहज भएको थियो। उनले ९ चौका र ४ छक्का प्रहार गरे।
जनकपुरले ६ ओभरको पावरप्लेमा ७१ रन जोडेको थियो। कप्तान आसिफ शेख सातौं ओभरको अन्तिम बलमा ३३ रन बनाउँदा सइफ जइबको बलमा क्याच हुँदा जनकपुरले पहिलो विकेट गुमायो। १९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका आसिफले पहिलो विकेटका लागि ओपनर लाहिरू मिलान्थासँग ७ ओभरमा ७३ रनको साझेदारी गरेका थिए।
दशौं ओभरमा सय रन पूरा गरे लगत्तै जनकपुरले दोस्रो विकेट गुमायो। दशौं ओभरको अन्तिम बलमा मोहमद मोहसिन ८ बलमा ९ रन जोडेर आउट भए। सुदूरपश्चिमका इशान पाण्डेबाट बोल्ड हुनुअघि उनले १ छक्का प्रहार गरेका थिए। मोहसिनले मिलन्थासँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे।
जनकपुरको जितमा उत्कृष्ट ब्याटिङ गरेका मिलन्थाले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ५९ रनको साझेदारी गरेका थिए।
जनकपुरका जिमी निशम भने ४ रनमै सुदूरपश्चिमका कप्तान ऐरीबाट १७औं ओभरमा बोल्ड भएका थिए। जितका लागि ३ रन चाहिएको बेला आकाश त्रिपाठीलाई १९औं ओभरको चौथो बलमा ऐरीले रनआउट गरे। १९औं ओभरमा जइबले २ रन मात्र खर्चिए।
जनकपुरका हर्ष थाकरले सुदूरपश्चिमका नरेन साउद बलमा एक रन लिए। दोस्रो बलमा मयन यादवले दुई रन लिएपछि जनकपुर च्याम्पियन बन्यो। थाकरले २४ बलमा नटआउट ३० रन जोडे।
बलिङमा सुदूरपश्चिमका कुगेलेइन, ऐरी, पाण्डे र जइबले एक एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सबफ जइबको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो।
जइबले ६९ रनको योगदान गरे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। जइबले ६४ रन बनाएर खेलिरहदा १२औं ओभरको दोस्रो बलमा जीवनदान पाए। जनकपुरका किशोर महतोको बलमा शेर मल्लले क्याच लिन खोज्दा हातबाट बल छुटेको थियो। दुई बलपछि पनि उनलाई क्याच गराउने अवसर थियो। तर अन्तिम बलमा उनी ललित राजवंशीको हातबाट समातिए।
जबइले पहिलो विकेटका लागि विनोद भण्डारीसँग १२ ओभरमा ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले उत्कृष्ट सुरूवात गरेको थियो।
अर्को ओभरको दोस्रो बलमा ललितले सुदूरपश्चिमका अर्का ओपनर भण्डारीलाई बोल्ड गरे। आउट हुनुअघि भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे। ३ बलको बीचमा सुदूरपश्चिमका दुवै ओपनरलाई आउट गरेपछि जनकपुरलाई केही राहत मिलेको थियो।
१५औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमले तेस्रो विकेट गुमायो। जनकपुरका मोहमद मोहसिनले हर्मित सिंहलाई १४ रनमा आउट गरे। जनकपुरका सब्सिच्युट फिल्डर हेमन्त धामीले उत्कृष्ट क्याच लिएका थिए।
१६औं ओभरको अन्तिम बलमा ब्रान्डन माक्मलेन पनि १४ रनमा आउट भए। उनलाई जनकपुरका जिमी निशमले बोल्ड गरेका थिए। स्कटिस अलराउन्डर माक्मलेनले १२ बलमा १ छक्का प्रहार गर्न सके।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन जोड्न सके। उनी १९औं ओभरको पहिलो बलमा मोहमद मोहसिनको बलमा हेमन्त धामीबाट बाउन्ड्री लाइनमा क्याच भएका थिए। यो ओभरको पाँचौ बलमा सुदूरपश्चिमले अर्को विकेट गुमायो। आरिफ शेख पनि छक्का प्रहार गर्ने चक्करमा १ रनमा ललितबाट बाउन्ड्रीमा समातिए।
अन्तिम ओभरको पहिलो बलमा सुदूरपश्चिमका स्कट कुगेलेइनलाई किशोर महतोले बोल्ड गरिदिए। उनले १० बलमा २ चौका प्रहार गर्दै १३ रन जोडे। यस्तै चौथो बलमा नरेश बुढाएर पनि ३ बलमा ८ रन जोडेर आउट भए। अन्तिम बलमा इशान पाण्डे तीन रन लिने क्रममा ६ रनमा रनआउट भए।
जनकपुरका मोहसिन र किशोरले ३/३ विकेट लिए।यसैगरी जिमी निशम र ललित राजवंशीले १/१ विकेट लिए ।