
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि बंगलादेशले जितेको छ ।
दशरथरंगशालामा भएको फाइनलमा २ १ ले बंगलादेशले उपाधी हात पारेको हो ।
५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डि बक्स भित्रबाट गोल गरेको थिइन् ।
नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।
खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।
बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गरिन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्। अन्तत् त्यही गोल निर्णायक भयो र बंगलादेशले उपाधी चुम्यो ।
नेपाल भने १२औं फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बन्यो।





