
काठमाडौँ । बडादसैँअन्तर्गत विजयादशमीका दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ ।
नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि आफन्तकोमा टीका लगाउन जानेको काठमाडौं उपत्यकामा चहलपहल देखिएको हो ।
महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः बनेको काठमाडौंमा विजयादशमीको टीकापछि भने टीका लगाउन आउने तथा जानेको चहलपहल बढेसँगै सवारी साधनको चाप पनि केही बढेको छ ।
निधारमा रातो टीका र कानमा जमरा लगाएका सर्वसाधारण अन्यत्र टीका एवं आशीर्वाद थाप्न जान थालेका छन् ।
दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । काठमाडौंमा सर्वसाधारणको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् ।
