
लघुकथा
प्लास्टिक संस्कृति
सिन्धु गौतम
बुढाबुढी मात्र बस्ने त्यो घर दिनभर शून्य हुन्छ तर साँझपख वरपरका वल्लोपल्लो घरका केटाकेटी स्कुलबाट आएपछि खाजा खाएर त्यहि जम्मा हुन्छन् अनि घरलाई हँसाएर र नचाएर जान्छन् । साँझ परेपछि उनीहरूकै प्रतिक्षामा हुन्छन् बुढाबुढी। केटाकेटीलाई पनि तिनै बुढाबुढीको आँगन प्यारो लाग्छ । त्यहि जान हतारिन्छन् उनीहरु । प्राय: साँझहरु धपक्क उज्यालिन्छन् त्यस घरमा । बुढाबुढीका आँखामा नानी भएर बसिदिन्छन् वरपरका ति केटाकेटी । साँझ गाढा भएर झपक्क अँध्यारिन थालेपछि फेरि उस्तै शुन्यता ! त्यसरीनै अँध्यारिन्छ बुढाबुढीको मन ।पन्ध्र बर्ष अगाडि विदेश गएका छोरा बुहारी फर्केका छैनन् । बुढाबुढी कहिलेकाहिँ भक्कानिदै स्मृतिमा उतार्छन् अतित । यहि नियमित दैनिकीमा बाँच्छ यो घर ! त्यसरीनै बाँच्दछन् बुढाबुढी पनि !
यसै रमाईलो र उदासीलाई चिर्दै पल्लो घरकी किशोरी नम्रता उफ्रदै आई हातमा मोबाइल बोकेर । ऊ फेसबुक चलाउँदै थिई ! एक्कासि चिच्याई बुढीआमैका अगाडि ।
*‘ हजूरआमा ! हजूरआमा !’
* ‘के भयो र ? किन यस्तो हतारिएकी नानी ?’
* ‘पन्ध्र वर्ष अगाडि त हिरोइन जस्ती पो हुनुहुँदो रहेछ हजूर हगि ?’
* ‘तिमी नजन्मदैको कुरा, कसले भन्यो हँ तिमीलाई ?’
* ‘लौ !अङ्कलले फोन गर्नु भएन आज ? ’ हजूरलाई फोन गरेर यो फोटो फेसबुकमा टाँस्नु भयो होला भनेकी मैले त !’
‘गरेन, के खाँचोले गर्थ्यो’
* ‘हेर्नुस् त यो फोटो !’ – मोबाइल त्यर्स्यौदै भनी – ‘अङ्कल जाने बेलाको रे नि त !है हजूरआमा ? ’ आमाले भन्नुभएको। हजूरलाई लेखेर पनि पठाउनु भा छ ।’
* ‘के लेखेछ त नानी फोटोमा त्यसले ? ’
* पख्नुस है मा पढ्छु – ‘ह्याप्पी मदर्स डे, मेरी आमालाई धेरै सुख र खुसी दिन सकूँ ।’

