काठमाडौं |आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘सगरमाथा सम्वाद’ कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठाएका छन् । कुनै पनि देशको राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित भएको सगरमाथा सम्वाद कार्यक्रमको गरिमामा नै प्रश्न उठेको उनले बताए ।
प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा उनले भोलीदेखी सुरु हुने सगरमाथ सम्वाद कार्यक्रम सुरु नहुदै त्यसको प्रभावकारितामाथि प्रश्न उठन थालेको बताए । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिए पनि हाम्रै छिमेकी भारत र चीनबाट समेत उच्चस्तरको सहभागिता नहुने देखिएको बताउदै उनले त्यसलाई छोट्याउन सरकारको ध्यानाकर्षण गराए ।
‘सम्मानिय सभामुख महोदय, भोलिदेखी सगरमाथा सम्वाद सुरु हुँदैछ, तर सम्वाद सुरु नहुँदै त्यस कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकारप्रमुख वा विदेशमन्त्री कुनै पनि देशको उच्चस्तरीय सहभागिता देखिएको छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यो कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, यो पृथ्वीको भविष्य सुनिश्चत्ताको लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरण गर्नका लागि एउटा महान उद्देश्यबाट यदि गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो, तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चतताको कुरा छैन । समुन्द्रपारिको त कुरा छोडिदिनुहोस, हाम्रो छिमेकी देशको पनि उच्चस्तरको सहभागिता छैन् । न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएको छ ।’
सगरमाथा सम्वाद कार्यक्रममा तीन सय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै एक सय ५० जना सहभागिता हुने भन्ने सुनिएको उनले बताए । त्यसमा पनि काठमाडौंस्थित् नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागीहरुको संख्या जोडेर भनिएकोले यो कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठेको साहले बताए ।
आजपा अध्यक्ष साहले सगरमाथा सम्वाद कार्यक्रमको लागि कार्यक्रममात्रै हो कि परीणामको लागि कार्यक्रम भनेर सरकारसंग प्रश्न गरेका छन् । सगरमाथा सम्वाद कुनै हतारमा तयार गरिएको कार्यक्रम नभएर विगत ६ वर्षदेखि गम्भीरताका साथ तयार गरिएको कार्यक्रम भएको साहले स्मरण गराए ।
‘यदि हामीले महान लक्ष्यका साथ कार्यक्रम गर्न लागेका थियौं भने अरु देशका नेतृत्वलाई किन कन्भिन्स गर्न सकिएन ? यो सगरमाथा सम्वादमा हुने सहभागीहरुको उपस्थितिले हाम्रो देशको गौरवमाथि प्रश्न उठेको छ । हाम्रो विश्वसनीयतामाथि प्रश्न उठेको छ । यदि ती देशहरु यो मुद्दामा गम्भीर छैनन भनेपनि त्यो गम्भीर विषय हो, यदि हाम्रो नेतृत्वलाई ती देशले पत्याएनन भनेपनि यो पनि अर्को गम्भीर प्रश्न हो । यसले हाम्रो कुटनीतिक क्षेत्रलाई पनि अभिव्यक्त गर्दछ । हाम्रो कुटनीति कति फितलो रहेछ भनेर देखियो । यो त ठूलो अवसर थियो कि देशको कुटनीतिको पनि स्तर उठाउने, तर आज नेतृत्वको भूमिका र अविश्वसनीयताको कारणले आज यो सगरमाथा कार्यक्रम प्रभावहीन भयो । म आग्रह गर्न चाहन्छु–यो सगरमाथा कार्यक्रम छोट्याउनुहोस, पैसा खर्च गर्न, देशको हुर्मत लिन कसैलाई छुट छैन्’ आजपा अध्यक्ष साहले भने ।