काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार कमरेड पुष्पलाल हुनसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको औल्याए । सबै कम्यूनिष्टलाई एक ठाउँमा ल्याउन कठिन रहेकाले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गरे।
‘हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिष्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ। प्रयास त हामीले गर्यौं। ०७४ को निर्वाचनअघि निर्वाचनपछि कम्युनिष्टहरुलाई एकतावद्ध गरेर दुई तिहाई बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो। तर त्यो एकता टिकाउन सकिएन, टिकेन,’ उनले भने।
उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे। साथै आफू कम्युनिष्ट एकताको पक्षमा सदैव रहेको समेत संकेत गरे ।