काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले बिभिन्न माग गर्दै काठमाडौं स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । बर्षाको झरीमा पनि आन्दोलनकारीले आज १०औं दिन पनि भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रम जारी राखेका छन् । भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुस्कारको व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गर्दै आजपाले विगत सात महिनादेखी आन्दोलन गर्दै आएको छ । पछिल्लो समय चौथो चरणको आन्दोलन अन्तरगत आजपाले गत २० बैशाखदेखी भन्सार विभाग घेराउ तथा धर्ना दिदै आएको आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जु साहले जनाएकी छन् । मञ्चका उपाध्यक्ष देवेन्द्र ठाकुरले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने, भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्नुपर्ने माग आजपाको छ ।
यस्तै प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्नुपर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने, भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सिमासंग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने लगायतका माग आजपाको छ ।