काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सम्पन्न गरेको छ ।
राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउन सबै प्रदेशका मातहतका कमिटीमा प्रतिवेदनमाथि छलफल गर्न पठाइएको थियो । सबै प्रदेशले सुझाव समावेश गरी केन्द्रमा पठाएका छन् ।
विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । कायम रहेको ७० वर्षीय उमेरहद हटाउने भनिएको छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।