काठमाडौं आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नो पेशव्यवसायको रक्षा र शान्तिपूर्ण व्यापार व्यवसाय गर्नका लागि काठमाडौं महानगरको गलत नीतिका विरुद्ध प्रतिकारमा उत्रिन कवाड व्यवसायीलाई सुझाव दिएका छन् ।
काठमाडौंको बल्खुमा शनिबार कवाड व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले काठमाडौं महानगरको मनोमानी कार्य कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै उसको गलत नीतिका बिरुद्धमा प्रतिकार गर्नुपर्ने बताए । पछिल्लो समय सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरले कवाड व्यवसायीलाई दुख दिने नियतले कवाडीको घरमा डोजर चलाएपछि आक्रोशित कवाड व्यवसायीहरु प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । कवाड व्यवसायीले काठमाडौंको फोहर संकलन गरी शहरलाई सफा बनाउनमा महत्वपूर्ण भुमिका खेलेकोमा उनीहरुलाई पुस्कृत गर्नुको साटो दुख दिने काम बन्द गर्न काठमाडौंका मेयर बालेन शाहलाई आजपा अध्यक्ष साहले चेतावनी समेत दिएका छन् । काठमाडौंको फोहर पैसा दिएर घरघरबाट किनेर शहरलाई सफा गर्ने कवाड व्यवासायीलाई दुख दिने काम बन्द नगरिए परिणाम ठिक नहुने चेतावनी साहको रहेको छ ।
‘काठमाडौंको फोहर पैसाले किनेर तपाईहरु शहरलाई सफा गर्नुभएको छ । काठमाडौं महानगरले तपाईहरुलाई पुस्कृत गर्नुपर्ने हो । तर कवाडमा डोजर चलाएर आतंक मचाउँने जुन कार्य भईरहेको छ, तपाईहरु आफ्नो पेशा व्यवसायको रक्षाका लागि प्रतिकारमा गर्नुस् । हामी तपाईहरुको साथमा छौं’ आजपा अध्यक्ष साहले भने, ‘काठमाडौं महानगरले जुन हरकत गरिरहेको छ त्यसलाई म सच्याउन आग्रह पनि गर्छु । हैन भने गरिबहरु जब सडकमा उत्रिन्छ त्यसको परिणाम ठिक हुदैन् ।’ आजै काठमाडौंको कोटेश्वरमा बसेको आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले काठमाडौंका कवाड व्यवासयीको हकअधिकार, रक्षाका लागि विशेष पहल गर्ने निर्णय समेत गरेको जानकारी दिदै उनले शान्तिपुर्ण वातावरणमा व्यापारव्यवासाय गर्ने अधिकार कसैले रोक्न नसक्ने बताए । यसैगरी बैठकले काठमाडौं महानगरद्धारा काठमाडौंका कवाड व्यवसायीहरुलाई दुख दिने नियतले सर्वोच्चको आदेश विपरित कवाडीमा डोजर चलाएपछि उनीहरुको रक्षाका लागि प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । कवाड व्यवसायीहरुको रक्षाका लागि विशेष पहल लिने निर्णय गर्दै बैठकले शान्तिपुर्ण वातावरणमा व्यापार व्यवसाय गर्न पाउने अधिकार कसैले खोस्न नसक्ने जनाएको छ ।
कवाड व्यवसायी संघका अध्यक्ष रामकेवल साहको अध्यक्षता भएको सो भेलालाई आजपा नेता रविन्द्र सिंह, सुनिता साह क्रान्ति लगायतकाले सम्बोधन गरेका थिए । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कवाड व्यवसायीहरुमाथि चलाईएको डोजर रोकने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायीहरुको ध्यानाकार्षण पत्र बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । अदालतको स्टे अर्डरविपरित काठमाडौं महानगरले व्यवसायीहरुमाथि धरपकड गर्न नपाउने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको भेटमा सहभागी एक व्यवसायीले जनाएका छन् ।
महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउने गरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका थिए । महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए । सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि (उच्च अदालत) बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई स्मरण गराएका थिए ।