ऐतिहासिक स्रोतमा घटना हुन्छ त्यो तात्कालिक हुन्छ । त्यसमा उपमा,कथावस्तु भन्ने कुरा बिल्कूलै हुँदैन । यो कुरा थाहा छ भने ठीक छ थाहा छैन भने थाहापाइ राख्न जरुरी हुन आउँछ । ऐतिहासिक साहित्यमा मुख्यतः कथावस्तु उपमाले सजाइएका सन्दर्भ नै आउँछ र घटनाको उल्लेख हुन्छ तर त्यो घटना तात्कालिक हुँदैन । त्यही भएर कुनै गौरवगाथा होस् या काव्य,खण्डकाव्य,महाकाव्य ,उपन्यास, नाटक आदि ऐतिहासिक कथावस्तुमा आधारित भएर लेखिएका नै हुने गर्छ । त्यसता रचना ऐतिहासिक साहित्य मात्रै ठहर्छ । त्यस प्रकारका साहित्यमा लेखिएका कुरा लिएर इतिहासको धरातलमा ल्याएर जिकिर गर्न आउनु सर्वात्मना गलत र नाजायज हो ।
सोही प्रसंगमा उदाहरण दिएर भन्नु पर्दा भृकुटी नेपालको इतिहासकी एक अत्यन्त चर्चित पात्र हुन् भनी सबैलाई थाहा छ तर उनको बारेमा कुनै ठोस् अध्ययन अनुसन्धान कुनै इतिहासकारहरुले गर्न सकेका छैनन् ।
उपन्यासकार धुस्वाँ सायमीले भृकुटीको उपन्यास लेखे । भृकुटी ऐतिहासिक पात्र हुन् भनेपछि भृकुटीको बारेमा उपन्यासमा वर्णित भएका कुराको एक झिल्को अंश पनि इतिहासको लागि उपयोगी साधन भनेर लिईदैन र लिइएको पनि अहिलेसम्म देखिएको छैन ।
सेतो बाघ उपन्यासमा राणाकालीन घटनाहरुको चित्रण गरिएका छन् । इतिहासको परिप्रेक्षमा कुरा गर्दा त्यस उपन्यासमा भनिएको कुराको एक झिल्को अंश पनि सापटी लिएर राणाकालीन इतिहास लेखिएको हुँदैन । यदि कसैले इतिहासको धरातलमा कुरा गर्दा त्यस उपन्यासमा भएको घटनाको आडमा कुरा गर्न आएमा दुनियाँ अवश्य हाँस्ने छन् ।
त्यस्तै गरी राष्ट्रकवि माधवप्रसाद घिमिरेको “राष्ट्र निर्माता” खण्डकाव्यमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको विषयलाई लिएर अति मिठासपूर्ण काव्य रचना गरिएको छ । तर इतिहासको धरातलमा त्यस काव्यको एक झिल्काको पनि उल्लेख गरिएका हुँदैनन् । त्यस्तै गरी पृथ्वीन्द्रवर्णोदय र भक्तविजय नामक काव्य पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेको खण्डकाव्य जस्तै हुन् । ती काव्यको रचयिता कवि ललितावल्लभ थिए । साहित्य फाँटमा राष्ट्रकविको जति महत्व छ ललितावल्लभको पनि उति नै महत्व होला । ती काव्यहरुको तारिफ र प्रशंसा केवल साहित्य जगतमा हुने गर्दछ भने इतिहास जगतमा ललितावल्लभको रचनाको कुनै चर्चा परिचर्चा हुँदैन ।
पृथ्वीन्द्रवर्णोदयको ४६ औ संस्कृत श्लोक यस प्रकार रहेको छ
सर्वान् दुर्गवरान् स भूपतिवरो भित्त्वा चतुर्दिक्स्थितान्
रम्यं कीर्तपुरति विश्रुतपुरं जग्राह भूरिश्रवाः ।
हत्वा शत्रुमनस्विनः कति पुनः प्रच्छिद्य नासादिकं
कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्तिस्वरुपान्द्विषः ।।४६।।(पृथ्वीनारायण शाहको उपदेश भाग २, पृष्ठ ४४५)
यस श्लोकको अर्थ पनि यसरी दिइएको छ यशस्वी गोरखाली राजाले चारैतिरका किल्लाहरुलाई बलैसंग जित्दै राम्रो प्रख्यात कीर्तिपुरलाई घेरा हाल्नु भयो । गोरखाली राजाले शत्रुका केही साहसी मानिसलाई मारिदिनुभयो, केहीको नाकहरु काटी शत्रुका केही मानिसलाई विरुप पारिदिनु भयो । यसरी शत्रुको कीर्ति नै हरियो ।।४६।।(ऐ ऐ पृष्ठ ४५८)
संक्षिप्त पृथ्वीन्द्रवर्णोदय काव्यको २८ औ संस्कृत श्लोक यस प्रकार छ
दुर्गाणि प्रसभं विजित्य परितः संस्थानि सर्वाण्यपि
रम्यं कीर्तिपुरेति विश्रुतपुरं जग्राह गोर्खेश्वर ।
हत्वा शत्रुमनस्विनश्च कतिचित् प्रच्छिद्य नासादिकं
कृत्वा काँश्च विरुपिणः कुपुरुषान् कीर्तिस्वरूपान् द्विषः ।। २८।।(ऐ.ऐ पृष्ठ ४६८)
यसको अर्थ, गोरखाली राजाले चारैतिरका किल्लाहरूलाई बलैसंग जित्दै राम्रो प्रख्यात कीर्तिपुरलाई घेरा हाल्नु भयो । गोरखाली राजाले शत्रुका केही साहसी मानिसलाई मारिदिनुभयो, केहीका नाकहरु काटिदिनुभयो,शत्रुका कीर्ति जस्ता भएका केही मानिसलाई कुरुप पारिदिनुभयो ।।२८।। ( ऐ.ऐ.पृष्ठ ४७४)
अन्तिममा
स्वस्ति श्रीशाके १६९२ मासे मार्गशीर्षे कृष्णपक्षे त्रयोदश्यां गुरुवासरे लिखितं कविना स्वयम् । शुभमस्तु ।। (ऐ.पृष्ठ ४५०)
यसको अर्थ,यस मितिको गणना गरी हेर्दा विक्रमसंवत् १८२७ शाके १६९२ मार्ग शीर्ष कृष्ण(अमान्त चान्द्रमानले कार्तिक कृष्ण) तिथि त्रयोदशी बार बृहस्पति घडी २१ पला ४१ स्पष्टसूर्य ७।३।४।३(ऐ ऐ. पृष्ठ ४६३) । यसबाट श्रीललितावल्लभ कविले कान्तिपुरमा बसेर शाके १६९२(वि.सं १८२७) सूर्य वृश्चिकराशिमा बसेमा(मङ्सीर महीनामा)कृष्णपक्ष त्रयोदशी बृहस्पतिबारको दिन उत्साहपूर्वक राम्रो पृथ्वीन्द्रवर्णोदय काव्य झटपट बनाएर आफनो हातले लेखे भनिएको छ । स्वयं ललितावल्लभले यो काव्य हो भन्दाभन्दै पनि संशोधन मण्डलले भने किन ऐतिहासिक स्रोत मान्दछन् ? यो भन्दा ठूलो इतिहासको बिडम्बना अरु खोज्नु पर्ला जस्तो लाग्दैन ।
बिडम्वना त यो पनि छ कि नेपालमा गणना बुझ्ने मान्छे भेट्टाउन मुस्किल छ । शाके १६९२ मार्ग शीर्ष कृष्ण कुन गणनाको रीत र पद्धतिले कार्तिक कृष्ण हुने हो , कहीं खुलाइएको छैन । संशोधन मण्डल भनेकै गणना हो र गणना भनेकै संशोधन मण्डल ठानेको हो कि के हो? बुझ्न सकिएको छैन । नेपालमा लिच्छविकालदेखि अहिलेसम्म अमान्त पद्धतिको हिसाव चल्दै आएको छ । यसको प्रमाण भनेको लिच्छविकालका अभिलेख र नेपालसंवत् अमान्तमान नै भएको प्रमाण काफी छ । शाके १६९२ भनेको पनि अमान्तमान नै हुन् फेरि त्यही अमान्तमान मुताविक मिति मार्ग शीर्ष कृष्ण भनिरहेको हुँदाहुँदै अमान्तबाट कार्तिक कृष्ण कसरी संभव हुन्छ , यसमा कसैले मतलव र चासो देखाएन भन्दैमा जे भने पनि हुन्छ भनेर सोच्नु महाभूल हो ।
वास्तवमा शाके १६९२ भनेको शकसंवत् होइनन् भनेर नबुझेको कारणले संशोधन मण्डलले गणना गर्दा बार नआउने बित्तिकै झिंगेदाउ अपनाएर कार्तिक भए मंसीर ,मंसीर भए कार्तिक भन्दै दुनियाँलाई भ्रम पार्दै आएको छ । वास्तवमा उनीहरुले साँच्चै गणना गरेकै होइन झिंगेदाउ खेलेको मात्र हो भनेर निःसंकोच भन्न सकिन्छ ।
त्यही ललितावल्लभको श्लोकलाई साभार मानी “केहीको नाकहरु काटी शत्रुका केही मानिसलाई विरुप पारिदिनु भयो”भनिएका कुरालाई अतिरञ्जित गर्दागर्दा अहिले आएर त्यही नाक १७ धार्नी पुगेको अपव्याख्या भइरहेको पनि देख्दै आएको छ । हुँदाहुँदा ललितावल्लभको श्लोकको आडमा सन् २०२५ मा पब्लिकेसन्स नेपा—लयद्वारा प्रकाशित “पृथ्वीनारायण शाह नायक, प्रतिनायक अनि नायकदेशीय ” शीर्षकीय पुस्तकमा ती अतिञ्जित कुरालाई समर्थन गरेर आफूलाई अब्बल इतिहासकार ठान्दै आएका व्यक्तिले पनि त्यस्तो अपुष्ट कुरालाई जोड दिएर लेखेको देख्दा आश्चर्यको सीमा रहेन ।
त्यसरी खण्डकाव्यमा लेखिएको अपुष्ट कुरालाई लिएर इतिहासको धरातलमा ल्याउन हुँदैन भनी मिति २०८१ माघ १० गते बिहीबारको दिन इ खबरनेट अनलाइनमा “हेर्दा सामान्य देखिने गम्भीर खालका त्रुटी” शीर्षकको लेख पनि प्रकाशित गराइएको हो तर यो लेख देखेपछि हतारहतार मूर्खले मात्र पत्याउने व्याख्या र पामरश्लाघ्य कोटीको लेख भनेर प्रतिकृया जनाएको पनि देखिनमा आयो । साँच्चै भन्ने हो भने साहित्यमा चर्चा गरिएको कुरा ऐतिहासिक भनेर मान्ने इतिहासकार सयमा १ हुनसक्ला तर ९९ले त्यसलाई ऐतिहासिक स्रोत मान्दैनन् । त्यसकारण १ को पक्षमा उभेर पत्याउनेलाई मूर्ख भन्ला कि ९९ को पक्षमा उभिनेलाई भन्छ भन्ने कुरा म जनमानसको विवेकमा छोड्न चाहन्छु ।
पृथ्वीन्द्रवर्णोदय, भक्तविजयकाव्य नामक काव्यमय गाथा पृथ्वीनारायण शाहको बारेमा लेखिएको गौरवगाथा हो । यो गाथाको नाम त धेरैले सुनेको देखेको पनि हुनु पर्दछ । यिनीहरुमा ऐतिहासिक कथावस्तु छ, काव्य अति मीठो छन्दबद्ध गरी संस्कृतमा लेखिएकोले यी ऐतिहासिक साहित्य हुन्, ऐतिहासिक स्रोत चाहिं होइनन् । यी पुस्तकका बारेमा “पृथ्वीनारायण शाहको उपदेश” नामक पाँच भागमा विभाजित भएको पुस्तक संशोधन मण्डल कै कृतिको रुपमा देखियो । यी पुस्तक प्रकाशित भएको मिति पुस्तकमा कतै खुलाइएको देखिंदैन । भाग पाँचको पृष्ठ १५ मा नयराज पन्तले २०२५ साल पौष २७ गतेको पृथ्वी जयन्तीको उपलक्ष्यमा कविता उद्गार दिइएको छ । प्रकाशक चाहिं जगदम्वा प्रकाशन श्रीदरबार ललितपुर भनेर दिइएको छ ।
संशोधन मण्डलकाअनुसार पृथ्वीन्द्रवर्णोदय र भक्तविजयकाव्य ऐतिहासिक स्रोत भनेर दावा गर्ने गरेको कुरा ती पाँच भागमा विभाजित पुस्तकमा बडो जोडतोडका साथ गरिएको पाइन्छ । पृथ्वीनारायण शाहले वि.सं १८२६ फागुनमा भक्तपुर विजयगरेको बेलामा कवि ललितावल्लभ कान्तिपुरमा बसेका थिए त्यहीबेला आधा काव्य आधा इतिहास गरी भक्तविजय काव्य लेखे । त्यसको नौ महीनापछि वि.सं १८२७ मार्गमा उनै कविले पृथ्वीन्द्र वर्णोदय नामक काव्य पनि लेखे भनिएको छ । (पृथ्वीनारायण शाहको उपदेश भाग २,पृष्ठ४३५)
यो कुरा संशोधन मण्डलले भनेको भए पुगी हाल्यो भनेर हुँदैन, प्रमाण दिएर लेखिएको हुनु प¥यो तर प्रमाण खोइ, कहीं उल्लेख छैन । यसरी मनगढन्त ढंगले अडकल गर्दैमा त्यसलाई इतिहास भनिंदैन ।
पृथ्वीन्द्रवर्णोदय नामक पुस्तकमा पृथ्वीनारायण शाहका प्रपितामह गोरखाली राजा पृथ्वीपति शाहका पालादेखि कविले आफनो कालसम्मको गोरखा राजवंशको इतिहासलाई काव्यको रुपमा लेख्ने चेष्टा गरेका छन् । भक्तपुरको लडाईंको कुरा कविले आफनौ कानले नगीचैबाट सुनेका थिए भनेर पनि दिइए ।
पहिलो सर्गमा राजनीतिक निकै कुरा परेका छन् । त्यसैले त्यसको संक्षिप्त रुप पनि बनाइएको छ । दोस्रो सर्गमा दशावतारमा घटाइ पृथ्वीनारायणको बयान गरिएको छ । तेस्रो सर्गमा पृथ्वीनारायणको स्तुति मात्र लेखिएको छ । द्वितीय सर्गको बाह्रौं श्लोक तथा तृतीय सर्गको पहिलो र अन्तिम श्लोक इतिहासलाई पनि काम लाग्ने देखिएकोले त्यसको सानुवाद दिएको कुरा उल्लेख छ ।
मूलमा कहीं कहीं व्याकरणविरुद्धका पदहरु छन् । तिनलाई सच्याउँदा कहिं छन्द नमिल्ने पनि हुन आउँछ । तिनमा पद फेरि मिलाउन इतिहासको ग्रन्थ भएको हुनाले अलि फरक पर्ला भन्ने शङ्का पनि भयो । सो सच्याउने काम यहाँ गरिएको छैन भनेर दिइएको छ । ऐ ऐ पृष्ठ ४३६) यतिले प्रमाण ठहरिने होइन ।
हुन पनि पृथ्वीन्द्रवर्णोदय एक विशुद्ध काव्य हो । यो काव्य तयार गर्दा मिति पनि लेखी दिएको मात्र हो । यसरी मिति जनाउँदा त्यो समयमा लेखिएको भन्ने चाहिं अवश्य भएको हो तर यसमा लेखिएका काव्य इतिहास सित तादात्म्यता भने छैन । त्यसको लागि केही उदाहरण यस प्रकार छन् । जस्तैः
गोरखालाई इन्द्रपुरी जस्तो भनिएको छ । वास्तवमा इन्द्रपुरी हेरेर आउने व्यक्ति यो संसारमा को छ ? पृथ्वीपतिलाई सौन्दर्यमा कामदेव, विष्णु जस्तो भनियो विष्णु र कामदेवको अनुहार कसले देखेको छ ? सज्जनहरुको इच्छा पु¥याइ दिने महादेव जस्तो, विद्यामा बृहस्पति भन्ने जस्ता उपमा साहित्यमा आउँछ इतिहासमा आउँदैन । त्यस्तै गरी वीरभद्र शाह,नरभूपाल शाहको तारिफ पनि उपमा दिएर गरिएको छ । स्वयं जगदीश्वर नै वीरभद्रका छोरा भएर जन्म लिएको भनेर उपमा जोड्नु, नरभूपाल शाहको पाउको जल खाए भने लठ्याङ्ग्रो र कोढीको रोग नै निको हुने जस्ता बयान इतिहासमा आउँदैन । नरभूपाल शाहका चार जना छोरा थिए पृथ्वीनारायण शाह,महोद्दामकीर्ति शाह दलमर्दन शाह दलजीत शाह र शूरप्रताप शाहको नाम मात्र उल्लेख छ तर बृन्दकेशर शाहको उल्लेख नै छैन । त्यसैले काव्यमा उल्लेख भएको कुरा इतिहास कुनै दृष्टिकोणले पनि तादात्म्य छ भन्न मिल्दैन । यो काव्य आद्योपान्त पढियो भने लक्षणा उपमा नै उपमाले सजाइएको काव्यलाई इतिहासको स्रोत मान्ने तत्व नै छैन । केवल रचना गर्दाको मिति पृथ्वीनारायण शाहको समय देखियो भन्दैमा इतिहासको स्रोत भनेर मान्न मिल्दैन । दूर्भाग्यवश संशोधन मण्डलले त्यसलाई इतिहासको स्रोत भनेर माने । त्यसलाई इतिहासको स्रोत नै हो त्यसमा हामी पनि छौं भनेर मुख देखाउन आउने अरु व्यक्ति अहिलेसम्म कोही देखिएको छैन ।
शाके १६९२ मार्ग शीर्ष कृष्ण त्रयोदशी बृहस्पतिबार ,ललितावल्लभले पृथ्वीन्द्रवर्णोदय काव्य तयार पारेको मिति ।
लिच्छविकालमा व्यवहार भएको शकपूर्व २ बाट उठेको संवत्को निरन्तरता भएर आएको संवत् १६९२ हो । कालान्तरमा आएर यसलाई नेपालमा शाके संवत्को नामबाट प्रचलनमा ल्याएको देखियो । प्रायः इतिहासको विषयमा कलम चलाई आएका लेखकहरुको दिमागमा शकसंवत् र शाकेसंवत् एकै हुन् भन्ने भान परेको छ । लिच्छविकालको अन्तमा आएर छोटकरी लिच्छवि संवत् ३०२ यसको पूर्ण ८०२ चली सकेपछि ८०३ हुनुको सट्टामा फेरि १ बाट शुरु भएको नयाँ संवत्को व्यवहार नेपाल खाल्डो याने काठमाडौं उपत्यका, नेपालमण्डलमा देखा प¥यो ।
यही नयाँ संवत् पछि नेपालवत्सर,नेपालदेशीय संवत् आदि कहलिंदा कहलिंदै नेपालसंवत् कहलिन आए । त्यतिबेला नयाँसंवत् १ कार्तिक शुक्ल प्रतिपदाको तद्नुसार शक ८०१ कार्तिक शुक्ल प्रतिपदा भएको कारणले ८०१+७८ गर्दा इस्वी ८७९ अक्टोवर पर्ने भयो भने ८०१+१३५ गर्दा विक्रमसंवत् ९३६ कार्तिक भयो भन्दै आएको हो । यसबाट नेपालसंवत् १ कार्तिकमा शक ८०१ कार्तिक इस्वी ८७९ अक्टोवर र वि.सं ९३६ कार्तिक भनेको लिच्छविकालदेखि चल्दै आएको संवत् भने ८०३ कार्तिक भएको कारणले शक र शाकेमा २ वर्ष फरक देखिएको हो । शकसंवत् चैत्रबाट गणना हुन्छ भने शाके कार्तिकबाट गणना हुने भएर शाके १६९२ भनेको शक १६९० को कार्तिकदेखि शक १६९१ को आश्वीनसम्म रहने हिसाव यहाँ आकर्षित भएको हो ।
संशोधन मण्डल गणनामा चुकेको कारण नै यही कि शाके १६९२ मंसीर भनेको शकबाट १६९० नगरी १६९२ लाई नै शक मानेर गणना गर्दा बार मिल्न नआएको हो । जब जब बार मिल्न आउँदैन झिंगेदाउ आकर्षित गरेर मंसीर भए कार्तिक गरेर दुनियाँलाई बेवकूफ बनाएर आएको हो । अमान्तमानको पद्धतिमा पहिले शुक्ल पक्ष आउँछ , त्यसपछि कृष्ण पक्ष आउँछ । अहिले विक्रमसंवत्लाई पूर्णिमान्त मानेको कारणले अमान्तको मंसीर शुक्ल पछिको कृष्णपक्षलाई पौषकृष्ण पक्ष भन्ने हुन्छ । भनाइको मतलव अमान्तको मंसीरकृष्ण त पौषको कृष्ण पक्ष भन्नु पर्ने हुन्छ । संशोधन मण्डलले अमान्तबाट मंसीर कृष्ण भनेको कार्तिक कृष्ण भन्नु त झनै ¥याङठ्याङ् नमिल्ने भई सिद्धान्तहीन मान्यता अवलम्बन गरेको प्रष्ट हुन्छ । तैपनि आफनो त्रुटिलाई त्रुटि भयो भन्न छोडी उल्टै चर्वित चर्वण, पिष्टपेषण जस्ता उपमा दिएर स्वनाम धन्य इतिहासकार हुन खोजेका छन् ।
अब फेरि गणना तिर जाऊँ, शाके १६९२ मार्ग शीर्ष कृष्ण त्रयोदशी बृहस्पतिबारको तारिख निकालेर हेरौं ।
शाके १६९२ मंसीर भनेको शक १६९०को कार्तिकदेखि शक १६९१को आश्वीनसम्म रहने भनेपछि मंसीर महिनामा शक १६९० मात्र हुने भयो । तिथिगण अमान्तमानले = चै१वै१जे१आ१श्रा१अधिक१भा१आ१का१+मंसीर कृष्ण त्रयोदशी(१५+१३=२८) २८=२९८
न्यास १
तसर्थः शाके १६९२ मार्ग कृष्ण त्रयोदशी बृहस्पतिबार भनेको इस्वी १७६९ जनवरी ५ तारिख बृहस्पतिबार हो भनी सिद्ध भएको छ ।
परिणाम
शाकेसंवत् १६९२ मार्ग शीर्ष कृष्ण पक्ष त्रयोदशी बृहस्पतिबार जुन दिइएको छ त्यस तिथिबारको तारिख गणना गर्दा समानान्तर शकसंवत् १६९० हुने र इस्वी १७६९ जनवरी ५ तारिख र बार बृहस्पतिबार आएकोले यो गणनाको नतिजा ठीक छ भन्न सकिन्छ । शक १६९० मा अधिकमास भएको र तिथि मार्ग महिनाको कृष्ण पक्ष भएकोले धकेलिएर जनवरीमा पर्न गएको हो । इस्वी १७६८ लीपयरको वर्ष हो । तारिखमा मेषतिथ्यन्त देखिको जोड ३७१.९५ आएकोमा लीपयरको ३६६.० घटाउँदा(५.९५) जुन आएको हो र १ हातलाइ आएको अंक १७६८+१ भएर जोड्न गई १७६९ हुन आएको हो । यसको कारण तिथिमा मार्ग नै भएपनि दिन क्षेपकले जनवरीसम्म पुगेकोले गर्दा भएको हो । पूर्णिमान्त पद्धतिअनुसार मार्गकृष्ण त्रयोदशी भनेको पौषकृष्ण त्रयोदशी हुने भएर जनवरीमा पर्न गएको हो । संशोधन मण्डलको गणना अनुसार मार्गकृष्ण भनेको कार्तिककृष्ण भनेर जुन दिइएको हो, त्यो बिल्कूल गलत भन्ने सिद्ध हुन्छ ।
निष्कर्ष
हिजोका दिनमा इतिहासको फाँटमा कलम चलाएर निक्कै साख बटुलेको संस्था संशोधन मण्डल हो । यो संस्थाले कमाएको साख आज रित्तिन गएको अवस्थामा पुगेको छ । किनकि त्यो संस्थाले स्थापित गर्न खोजेका सारा मान्यता एक एक गरी भत्की सबै धराशायी भएको देखिएकै हो । लिच्छविसंवत्को निर्णय कै कुरा गर्ने हो भने त्यसमा औंल्याइएका त्रुटिका सम्वन्धमा चुईंक्क बोल्न सकेका छैनन् । इतिहास संशोधनका प्रमाण प्रमेय कै सम्वन्धमा भन्नु पर्दा स्वयं त्यसमा मल्लकालमा तिथिमिति अमान्तमान भएर चले , शाहकालमा पूर्णान्तमान चले भनेर लेख्ने, मल्लकाल कै मितिको गणना गर्दा पूर्णिमान्तबाट ट्वाक्कै मिल्यो भन्दै गर्दा कुनै हिच्किचाहट मानेको देखिएन । त्यस्तै गरी पूर्णिमा अंक सय डेढसय अंक निर्धक्क साथ छपाइ सके भनी नाक फुलाइ आएको छ । त्यसमा पनि शुरुका अंकदेखि अहिलेसम्म त्यही त्रुटि दोह¥याइ आएका छन् । त्यसमा सच्चिने सच्याउने कुरा भने पटक्कै छैन । गोरखाको इतिहास भनेर चार भाग प्रकाशित गरेर गमक्क फुलेका छन् त्यसमा पनि त्यही त्रुटिको पुनरावृत्ति भइ रहेको छ सच्याउने कुनै संकेत नै छैन ।
अहिले आएर ललितावल्लभले लेखेको काव्यलाई इतिहास मानेर बडो गर्जायमान भएर कीर्तिपुरेहरूको नाक काटेकै हो नपत्याए पृथ्वीन्द्रवर्णोदयमा छ भनेर छाती फुलाएर बोल्ने लेख्ने गरेको देखेर त्यस्तो अपुष्ट कुरालाई लिएर लेख्नु हुँदैन भनी सुझाव दिईंदा पनि मूर्ख, पामरश्लाघ्य कुरा गर्ने भनेर हकार्नमा पछि परेको छैन । फेरि गणनाको रीत केही नदेखाई गणनाबाट यो आयो÷त्यो आयो भनेर हुँदैन भन्दा उल्टो चर्वितचर्वण पिष्टपेषणको गणित देखाउने भन्दै झम्टिन पो आउँछ । त्यही भएर ऐतिहासिक स्रोत कस्तालाई भन्ने र ऐतिहासिक साहित्य कस्तालाई भन्ने त्यसको भेदसम्म छुट्याउन नसकेको देख्दा अव दुनियाँले संशोधन मण्डलको कृति र प्रकाशनको पुनर्मूल्यांकन गर्न जरुरी भइसकेको र साभार लिईंदा सोचेर तौलेर मात्र ग्रहण गर्नु जरुरी छ । आशा छ अब उप्रान्त कसैले पनि नेपालको इतिहास त्यसरी लटरपटर गरेर लेखिने, लेखाउने छैनन् ।


