काठमाडौं । आईसिसी टी २० विश्वकप क्रिकेटमा नेपाल एक दशकपछि पुनरागमन गर्दैछ ।
समूह डी मा रहेको नेपालले विश्वकपको पहिलो खेलमा नेपाली समय अनुसार आज राती सवा ९ बजे नेदरल्यान्डससँग भिड्दैछ । विश्वकपका सबैभन्दा कान्छा कप्तान रोहित पौडेल नेतृत्वको नेपाली टीमले पाँचौ पटक विश्वकपमा सहभागिता जनाउने टोलीसँग प्रतिष्पर्धा गर्दैछ ।
यस अघि २०१४ मा पारस खड्काको कप्तानीमा सहभागिता जनाएको तर समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल र नेदरल्यान्डसबीच हालसम्म टी २० आईमा १२ खेल भएका थिए । हेड टु हेडमा नेपाल ५ खेलमा विजयी भएको थियो भने नेदरल्यान्डसले ६ खेलमा जीत हासिल गरेको थियो। अर्काे एक खेल भने नतिजा रहित भएको थियो ।
यस हिसावले नेपाल र नेदरल्यान्डस दुवै चीरपरिचित प्रतिद्धन्द्धी हुन् । तीन महिना अगाडी भएका त्रिदेशीय टी २० खेलमा नेपालले एक खेल जित्दा नेदरल्यान्डसले दुई खेलमा जीत हात पारेको थियो ।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाई आफ्नो टोली सबै हिसावले मुकाविला गर्न तयारी अबस्थामा रहेको बताए । अमेरिकाको हावापानी र त्यहाँको अबस्थाासँग भिज्ने अबसर पाइसकेको नेपाली टीमले अमेरिकामा अभ्यास गरिहेको उनले बताए ।
विश्वकप खेल्ने खेलाडीहरुलाई सबै नेपालीले शुभकामना दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतले शुभकामना दिएका छन् ।
नेपाली टोली उच्च मनोवलका साथ विश्वकपमा प्रस्तुत हुने तयारीमा देखिन्छ ।
अमेरिका र वेस्ट इन्डिजले सँयुक्त रुपमा आयोजना गरेको विश्वकप विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेता टोलीले १२ लाख २८ हजार डलर पुरस्कार पाउँनेछ । यसरी नै सेमीफाइनलको यात्रा तय गर्ने दुई टोलीले जनही सात लाख ८७ हजार अमेरिकी डलर पाउनेछ भने सहभागी सबै टोलीले २ लाख पचास हजार अमेरिकी डलर पाउने छ ।
समूह डी मा रहेको नेपालसंगै टेष्ट मान्यताप्राप्त राष्ट्र दक्षिण अफ्रिका,श्रीलंका र बंगलादेश समेत रहेका छन् ।