काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरपालिका वडा नं २६ को आयोजनामा ‘काठमाडौँ जिल्लाव्यापी वृहद खेलकुद प्रतियोगिता–२०८२’ असार १ गते आइतबारदेखि हुने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २६ ले आज पत्रकार सम्मेलन गरी असार १ देखि ८ गतेसम्म काठमाडौँ जिल्लाव्यापी वृहद खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
“वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएको कारणपनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो,”– उहाँले भन्नुभयो । वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाअध्यक्ष तिवारीले बताउनुभयो ।
प्रतियोगिताका संयोजक एवम् वडा सदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म चल्ने प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागीता रहने जानकारी दिनुभयो । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र कँरातेका दुई विधा गरी ५ विधामा प्रतियोगिता हुने उहाँको भनाई थियो ।
प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु १ लाख ५० हजार, उपविजेता टिमलाई रु ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु १० हजारका दरले प्रदान गरिने वडाले जनाएको छ ।
यसैगरी, तेक्वान्दो प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्धितीय र तृतीयलाई क्रमशः रु २० हजार, १० हजार र ५ हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।
यस्तै, डब्लुकेएफ कराँते प्रतियोगिताको महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः रु ३० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ र टिम विजेता प्रथम, द्धितीय र तृतीयलाई क्रमशः रु ५० हजार, २५ हजार र २० हजार प्रदान गरिने बताइएको छ । कराँतेको आईकेयुतर्फ प्रथम, द्धितीय, तृतीय र शान्तनालाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
क्भ