काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनको तयारी सकिएको पार्टीको जिल्ला सचिवालयको आइतबार बसेको बैठकले छनौट भएका प्रतिनिधिहरुको अनुमोदन गर्दै मनोनित गर्न पाउने प्रावधान अन्तर्गतका प्रतिनिधिहरुको समेत टुँगो लगाएको छ ।
पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउसो अधिवेशनको उद्घाटन धुलिखेलको बेचिङ ल्पान्टमा गर्नै कार्यक्रम रहेको छ ।
कूल १ सय ३५ वडा र विभिन्न जनवर्गिय संगठन तथा मनोनित समेत गरी ६ सय ९० जना प्रतिनिधि सहभागी हुने जिल्ला कमिटीले जानकारी दिएको छ । यो पटकको अधिवेशन बर्षातको याम र किसानहरुको व्यस्त समय भएकोले अघिल्लो अधिवेशनमा जस्तो उपस्थिति धेरै नगराउने तर भव्यताका साथ सम्पन्न गर्नै योजनामा काभ्रेको एमाले भएको बुझिएको छ ।
११ औं अधिवेशन जेठ २८ देखि ३० सम्म धूलिखेलमा हुने र यसका सबै तयारी पुरा भएको जानकारी पनि एमाले काभ्रेले दिएको छ । अधिवेशन भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न पार्टी जिल्ला अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति,उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति,सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन समिति,उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरी तिनले आफ्नो कार्य गर्दैछन् । अधिवेशनको मञ्च तथा खाना ब्यवस्थापनको जिम्मा धूलिखेल नगरकमिटीले लिएको छ । सचिवालयले पेश गरेका सबै प्रतिवेदनहरु सर्वसम्मत पारित गरिसकेको जनाइएको छ ।
अधिवेशनको बन्दशत्र धूलिखेल नगरपालिकाको सभाहलमा हुने एमालेले जनाएको छ । अधिवेशनले नमूना काभ्रे,सम्बृद्ध काभ्रेलीको परिकल्पना साकार पार्न थप योजना निर्माण गर्न तल्ला कमिटिलाई निर्देश गर्ने बताइएको छ । यो अधिवेशनको बन्द शत्रले १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने बताइएको छ ।