काठमाडौं । कामनपाले संस्थागत(नीजि) बिद्यालयहरुलाई कक्षा १० सम्मका कक्षाहरुमा कम्तिमा १० प्रतिशत विद्यार्थीहरुलाई अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगरपालिकाको तर्फबाट शिक्षा विभागले सूचना जारी गर्दै उक्त छात्रवृत्ति रीतपूर्वक वितरण गर्न भनेको छ । पटक पटक यो विषयलाई कार्यान्वयन गर्न अनुरोध गर्दा जेठ २३ सम्ममा महानगरक्षेत्रका ४७३ विद्यालयले छात्रवृत्ति वितरणको विवरण उपलब्ध गराएको महानगर शिक्षा विभागले जानकारी दिएको छ ।
छात्रवृत्ति वितरणको विवरण पेश गर्न बाँकी विद्यालयहरुले तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन र निर्धारित समयभित्र विवरण उपलब्ध नगराउने विद्यालयहरु शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको अभिलेखीकरण गरी त्यस्ता विद्यालयमा विद्यार्थी भर्ना नगर्न नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकलाई सूचित गरिने महानगर शिक्षा विभागद्धारा प्रकाशित सूचनामा जनाइएको छ ।
त्यस्ता विद्यालयलाई हदैसम्म कानून बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।