काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको लागि नयाँ समिकरण बन्नु प्रारम्भिक रुपमा स्वागत योग्य विषय भएको बताएका छन् ।
आज नयाँ समिकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिदैँ उनले राप्रपाले सधैँ यो संविधानले काम गर्दैन् र यही संविधानबाट अगाडि जान सकिदैँन् भन्ने कुरा उठाउदैँ आएको भन्दै संविधान संशोधनको कुरा स्वागत योग्य भएको बताएका हुन् ।
उनले भने, ‘अहिले काङ्ग्रेस र एमालेले जुन नयाँ सहमती बनाएको समाचार बाहिर आएको छ । त्यो सहमतीको मूल मुद्धा भनेको संविधान संशोधन रहेको छ । प्रमुख दल र दोस्रो मुख्य दल मिलेर संविधान संशोधन गर्न मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । त्यसलाई हामीले प्रारम्भिक रुपमा स्वागत योग्य विषय मानेका छौ । किनभने यो संविधानले काम गर्दैन् र यही संविधानबाट अगाडि जान सकिदैँन् भन्ने कुरामा मुख्य दलहरु सहमत भएको देखिएको छ ।’
उनले सरकारमा जाने नजाने भन्ने कुरामा यो समिकरणले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ सबै हेरेर मात्र आफ्नो धारणा बनाउने निर्णय गरेको जानकारी दिएका छन् ।
उनले भने, ‘यसले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ हेर्न बाकी छ । त्यसकारण यसलाई हेर्ने र आफ्नो धारणा बनाउने हामीले निर्णय गरेका छौ । संविधान संशोधनको प्रक्रिया कसरी अगाडि जान्छ र अहिले बाहिर आएका कुरा सहमतीका विषय हो की होईन् र त्यसमा काङ्ग्रेस एमाले सहमत छ कि छैन् भन्ने कुरा सबै हेरेपछि र अरु दलहरुसँग कुरा गरेपछि मात्र हामीले हाम्रो धारणा बनाउछौ ।’