रौतहट । आम जनता पार्टी (आजपा)ले बिजुली र पानी निशुल्क गराउ संघर्ष गर्ने निर्णय गरेको छ । रौतहटको पतुवा बिजयपुरमा बसेको आजपाको नगरकमिटीको बैठकले बिजुली र पानी निशुल्क गराउन संघर्ष गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले बढदो लुट एवं भ्रष्टाचारको बिरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णय समेत भएको छ । बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा समेत छलफल भएको छ । पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउँने, पार्टीको नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
आजपा फतुवा बिजयपुर नगरकमिटीका अध्यक्ष बिजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगरकमिटी इन्चार्ज प्रदिप पटेल सहित पार्टीका स्थायी कमिटी सदस्यहरु कान्तिदेवी महतो, संजय यादव लगायतको विशेष सहभागिता रहेको थियो । बिभिन्न निर्णय सहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अहिले अपुग शिक्षक एवं बिषयगत शिक्षक बिद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका बिभिन्न कार्यक्रम जारी राखेको छ । मधेस प्रदेशका आठ वटै जिल्लामा आजपा निकटको आम बिद्यार्थी मोर्चाले बिद्यार्थी अनुपातमा बिषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै बिभिन्न कार्यक्रम गरिरहेको बिद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।