काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ।
भेला आउँदो साउन १७ र १८ गते काठमाडौंमा हुने महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिए।
गुरूङका अनुसार पार्टीको समग्र सांगठनिक अवस्थाको समिक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको भेला गर्न लागिएको हो ।
राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरुलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बॅाकीको विवरण, नयॅा सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामवली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरुलाई पत्राचार गरेको पनि महामन्त्री गुरुङ्गले बताएका छन् ।
भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ्’ गर्ने कार्यक्रम रहेको छ भने पार्टीका वरिष्ठ नेताहरुले पार्टी जीवनका विविध पक्षहरुमा अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम तय भएको गुरुङ्गले बताएका छन् ।