कलैया । आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै मधेसमा आन्दोलन सुरु गरेको छ । सोमबार मधेसका जिल्लाहरुमा आजपाले प्रदर्शन गरेको छ । आजपा निकटको आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहले मधेसमा गुणस्तरी शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग सम्बोधन नभए कडाभन्दा कडा आन्दोलन हुने चेतावनी दिएका छन् । आजपाको जिल्ला कमिटीहरुले सर्लाही, सप्तरी, रौतहट, महोत्तरी लगायतका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश र संघीय सरकारलाई विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने, गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँनुभन्दा अघि उनीहरुले मलंगवा, राजविराज, गौर, जलेश्वर लगायतका ठाउँमा प्रदर्शन समेत गरेका थिए । यस अघि कलैयामा समेत प्रदर्शन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बारामा आजपाले ज्ञापनपत्र बुझाउँदै विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गरेका छन । आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग पार्टीको रहेको बताए । विद्यार्थीको अनुपातमा शिक्षकको ब्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइदैन, विद्यार्थीको भबिष्यसंग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, आम जनता पार्टी जिन्दावाद लगायतका नारा प्रदर्शनकारीले लगाएका छन् ।
यस अघि गत साता रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र बिषयगत शिक्षक दरबन्दी पुर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । ४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निष्कर्ष निकालेको थियो ।
मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक बर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ । सर्लाहीमा २ लाख ५६ हजार बिधार्थी रहेको र शिक्षकको मौजूदा संख्या २४ सय १० मात्र छ । जबकी ५० बिधार्थीको अनुपातमा आवश्यक शिक्षक संख्या ५१ सय २७ हुनुपर्ने हो अर्थात शिक्षक दरबन्दी २७ सय १७ अपूग रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । यसैगरी रौतहटमा १ लाख ८५ हजार बिधार्थी संख्या रहेको तर शिक्षक संख्या २ हजार मात्र छ । जबकी ५० बिधार्थीको अनुपातमा शिक्षक दरबन्दी ३७ सय हुनुपर्ने हो अर्थात् रौतहटमा शिक्षक दरबन्दी १७ सय अपुग रहेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।