काठमाडौं| प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल सरकारद्वारा संसद्मा पेश गरिएका ६ वटा अध्यादेशलाई पारित गर्न सबै सांसदलाई आग्रह गरेका छन्। बिहीबार संसदमा बोल्दै उनले यी अध्यादेशहरू जनहितका लागि ल्याइएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर पारित गर्नुपर्ने बताए।
उनका अनुसार, सरकारले २९ वटा ऐन संशोधन गर्न प्रस्ताव गरेको छ, जसले सार्वजनिक सेवा सुधार, व्यवसाय प्रवद्र्धन, सुशासन र समग्र आर्थिक विकासमा योगदान दिनेछ। “सेवाग्राहीका काम ७ दिनभित्र सक्ने, उद्योग दर्ता १५ दिनमै हुने जस्ता प्रावधानहरू जनहितमा छन्, जसबाट लाखौं नागरिक लाभान्वित हुनेछन्,” उनले भने।
सांसद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनदेखि सूचना प्रविधि क्षेत्रको विस्तार सम्मका उपाय समेटिएको भन्दै यी विधेयकहरू पारित गर्नुपर्नेमा जोड दिए। “प्रधानमन्त्रीले सुधारको हुटहुटी देखाउनुभएको छ, अब संसदले पनि साथ दिनुपर्छ,” उनले थपे।
उनले सबै दलका सांसदहरूलाई मुलुकको विकासलाई केन्द्रमा राखेर सोच्न आग्रह गर्दै भने, “हामी सबै मिलेर समृद्ध नेपालको सपना साकार पार्नुपर्छ। देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिन जरुरी छ।”