
काठमाडौं । स्वयम्भूस्थित बुद्ध प्रकाश फाउण्डेसनले यही जेठ १७ गते शनिबार ध्यान तथा बौद्ध दर्शनमा आधारित जीवनोपयोगी शिक्षाको एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा बौद्ध गुरु छोक्न्यी रिन्पोछेले सहभागीहरूलाई ध्यान अभ्यास तथा बौद्ध दृष्टिकोण सम्बन्धी सरल र व्यावहारिक ज्ञान बाँड्नुहुनेछ ।
छोक्न्यी रिन्पोछे विश्वभर गहन ध्यान साधना, मनको खुलापन, र हृदयको सरलताका शिक्षाका लागि परिचित हुनुहुन्छ । गृहस्थ जीवन बिताउँदै आध्यात्मिक अभ्यासलाई जीवनमा कसरी समाहित गर्न सकिन्छ भन्ने उहाँको शैली धेरैका लागि प्रेरणादायी मानिन्छ ।
आयोजक बुद्ध प्रकाश फाउण्डेसनका कार्यकारी निर्देशक अरुण पौडेलका अनुसार, “ध्यानको अभ्यासले जीवनका विभिन्न पक्षलाई बुझ्न र सहजतापूर्वक जीउन सघाउँछ । यो कार्यक्रमले ध्यान र बौद्ध दृष्टिकोण सम्बन्धी केही जानकारी दिन्छ, साथै जीवनमा आउने चुनौतीहरूलाई बुझ्न पनि सहयोग पुर्याउँछ।”
“हामीले विगतमा पनि रिन्पोछेसँगका कार्यक्रममा सहभागी भएका धेरै व्यक्तिहरूबाट सुनेका छौँ—उहाँका उदाहरण र व्यावहारिक शिक्षाले आफ्नो सोचमा परिवर्तन आएको अनुभव धेरैले गरेका छन्,” पौडेलले भने ।
ध्यान अभ्यासी वा आफ्नो जीवनलाई नजिकबाट बुझ्न चाहने जो–कोहीका लागि यो कार्यक्रम खुला रहनेछ । कार्यक्रम साँझ ५ बजे सुरु भई ७ बजेसम्म चल्नेछ ।
रिन्पोछेद्वारा नेपालमा ध्यान सम्बन्धी सार्वजनिक कार्यक्रम लामो समयपछि हुन लागेकाले पनि यसलाई विशेष मानिएको आयोजकले जनाएको छ।
यसका अतिरिक्त, फाउण्डेसनले हरेक शुक्रबार साँझ ५ बजेदेखि ६:३० बजेसम्म नियमित ध्यान प्रशिक्षण कक्षा पनि सञ्चालन गर्दै आएको छ । फाउण्डेसनले ध्यान अभ्यासलाई समुदायस्तरसम्म पुर्याउने उद्देश्यका साथ स्थानीय समुदाय, शिक्षण संस्था, र सार्वजनिक निकायहरूसँग पनि सहकार्य गर्दै आएको छ ।







