काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।
तापक्रम बढ्नेक्रम जारी रहँदा केही स्थानमा वर्षाको सम्भावना पनि छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका उच्च–पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
काठमाडौंमा आज बिहान मौसम सफा रहेको छ । अपराह्नपछि भने बदली हुनेछ ।
काठमाडौंमा अधिकतम तापक्रम सोमबारकै हाराहारीमा हुनेछ । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस थियो ।आज पनि हिजोकै आसपासमा हुनेछ ।
आज तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।